तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा मिटरब्याजी सम्बन्धीको छानबिन तीव्र

वीरगञ्ज ।  गृह मन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय पर्सा मातहत आएका अनुचित लेनदेन (मिटरब्याज सम्बन्धी उजुरीहरूको छानविन तथा मिलापत्र गर्ने क्रम पर्सामा बढ्दै गएको छ । 

जिल्ला प्रशासन कार्यालय पर्साले गत माघ २४ गते अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेको उजुरीमध्ये ५ सय ७ वटा उजुरी फर्छ्योट गरि बाँकी १ हजार ३ सय ६६ उजुरीका फाइलहरू आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताउनुभयो । 

माघ २४ गतेदेखि हालसम्म पर्सा प्रहरीले ३८ वटा उजुरीमा दुवै पक्षबिच मिलापत्र गराएको र उजुरी पर्ने क्रम समेत जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ध्रुव कुमार श्रेष्ठले बताउनुभयो ।

प्रशासनबाट प्रहरीले अनुचित लेनदेन मिटरब्याज सम्बन्धी  मुद्दाको जिम्मा लिएसँगै झण्डै १ महिनाको अवधिमा ३ सय २५ वटा उजुरी थपिएको र हाल सो कसरमा पर्सा प्रहरीमा १ हजार ६ सय ५३ वटा उजुरी रहेको छ । ती मध्ये एक महिनाको अवधिमा ३८ वटा उजुरीमा दुवै पक्षबीच मिलापत्र भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । 

सो अवधिमा ४० वटा उजुरीमा छलफल भएकोमा ३८ वटा मिलापत्र भएको र २ वटा उजुरीमा अनुचित लेनदेन मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । 

दुई वटा उजुरीमा छानबिन गर्दा कपाली तमसुक बराबर कै रकम चाहिने अडानमा रहेका दुईलाई बारम्बार प्रमाण पुर्‍याउनभन्दा पनि प्रमाण नपुगेको खण्डमा दुई जनामाथि अनुचित लेनदेन मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी श्रेष्ठले दिनुभयो । कुल दर्ता भएका उजुरी जिल्लाभरिका १४ वटै स्थानीय तहबाट आएका छन् । 

विशेषगरी लेनदेन र जग्गाजमिन सम्बन्धी मिटरब्याज पीडितहरूको उजुरी बढी दर्ता भएका छन् ।

गृहमन्त्रालयले ‘अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरी सङ्कलन तथा फर्छ्यौटका लागि कार्यसम्पादन कार्यविधि’ जारी गरेको र जसमा जाँचबुझ आयोगले जिल्ला प्रशासन कार्यालयमा पठाएर विचाराधीन रहेको उजुरी जिल्ला प्रहरी कार्यालयमा पठाउन निर्देशन दिएपछि मिटरब्याजी सम्बन्धी उजुरीको छिनोफानो र निरुपण गर्ने जिम्मा प्रहरीको काँधमा गएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो । 

प्रहरी र प्रशासनले गरी हालसम्म पर्सामा ५ सय ४५ वटा उजुरीमा सहमति भई छिनोफानो भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button