तपाईँ सुन्दै हुनुहुन्छः

दाङ क्रिकेट लिग : तुलसीपुर र घोराहीको दोस्रो जित

दाङ । दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग (डिसिएल) अन्तर्गत बुधबार सम्पन्न तेस्रो दिनको दुई खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन्।

घोराही क्रिकेट स्टेडियममा सम्पन्न खेलहरूमा तुलसीपुरले पुरनधारा च्यालेन्जर्सलाई तथा घोराही टाइगर्सले देउखुरी वारियर्सलाई पराजित गरे। पहिलो खेलमा तुलसीपुर रोयल्सले दोस्रो जित दर्ता गर्ने क्रममा पुरनधारा च्यालेन्जर्सलाई ३२ रनले पराजित गर्‍यो।

तुलसीपुर रोयल्सले दिएको १०९ रनको लक्ष्य पछ्याएको पुरनधाराले पुरै २० ओभर ब्याटिङ गरेता पनि ७ विकेट गुमाएर ७६ रन मात्र बनाउन सक्यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको तुलसीपुर रोयल्सले २० ओभरमा ८ विकेट क्षतिमा १०८ रन बनाएको थियो।

दोस्रो खेलमा घोराही टाइगर्सले देउखुरी वारियर्सलाई ५ विकेटले पराजित गर्‍यो। देउखुरीले दिएको १०३ रनको लक्ष्य घोराहीले १८.४ ओभरमा ५ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा घोराहीको लागि प्लेयर अफ द म्याच घोषित दिपेश कँडेलले सर्वाधिक २६ रन बनाए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको देउखुरी वारियर्सले २० ओभरमा ९ विकेट गुमाएर १०२ रन बनायो।

आजको जितपछि तुलसीपुर रोयल्स दुवै खेलमा जितको साथ ४ अङ्कसहित लिग अङ्कतालिकाको शीर्ष स्थानमा छ। तेस्रो खेल खेल्दा दोस्रो जित दर्ता गरेको घोराही टाइगर्स ४ अङ्कसहित नेट रन रेटमा पछि हुँदा दोस्रो स्थानमा छ। पुरनधारा च्यालेन्जर्स ३ खेलमा २ अङ्कसहित तेस्रो, २ खेलमा १ जित र १ हारपछि समान २ अङ्क भएको दंगाली लायन्स चौथो स्थानमा छ। देउखुरी वारियर्स दुवै खेलमा हार पछि पाँचौँ स्थानमा छ।

दाङ क्रिकेट सङ्घद्वारा आयोजित प्रतियोगितामा पाँच फ्रेन्चाईज टोली सहभागी छन् । जसमा सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्स रहेका छन् ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । लिगको उत्कृष्ट ब्याटर, बलर तथा उदयमान खेलाडीले समान १०/१० हजार प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button