पढाइसँगै विद्यार्थीलाई सिप सिकाउँदै सल्यानका विद्यालय

सल्यान । सल्यानका सामुदायिक विद्यालयहरूले विद्यार्थीलाई पठनपाठनसँगै व्यवहारिक सीप सिकाउन थालेको छ ।
शिक्षालाई प्रयोगात्मक बनाई जीवनसँग जोड्न भन्दै सामुदायिक विद्यालयले जीवनोपयोगी शिक्षा प्रदान गर्न थालेका हुन ।
कपुरकोट गाउँपालिकाका ५, सिद्ध कुमाख गाउँपालिकाको १ र छत्रेश्वरी गाउँपालिकाको १ विद्यालयले अहिले जीवनोपयोगी सीप विद्यार्थीलाई सिकाइरहेका छन् ।
कपुरकोट गाउँपालिकामा हाउस वाइरिङ, पेन्टिङ, डकर्मी, पलम्विङ लगायतका सीप प्रदान गरिएको छ भने सिद्ध कुमाख गाउँपालिका–३ मा रहेको निराजन माध्यमिक विद्यालयमा खानाका परिकार बनाउने सम्बन्धी सीप सिकाइएका छन् ।
पढाइपछि रोजगारी अवसरको अवसर राम्रो भएकाले पलम्विङ सम्बन्धी सीप सिकिरहेको कपुरकोट गाउँपालिका–३ मा धनवाङ्गमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्र प्रकाश विकले बताउनुभयो । पाएको ज्ञान सीपले आफूलाई पढाइमा उत्साह र सिकाइमा तुल्याएको बताउनुभयो ।
कालिका माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा जीवना डाँगीले पेन्टिङ सम्बन्धी सीपले आत्मनिर्भर बनाउन सहयोग मिलेको बताउनुभयो । आफ्नो हातमा सीप भएमा विदेश नै जानुपर्छ भन्ने सामाजिक सोचलाई परिवर्तन गर्न पनि तालिमले सहयोग मिलेको डाँगीले बताउनुभयो ।
यस्तै निराज माध्यमिक विद्यालय ढोरचौरमा पशु विज्ञानतर्फ कक्षा १०मा अध्ययनरत विद्यार्थीले दूधजन्य परिकार बनाउने सीप सिकिरहेका छन् । पढाइलाई व्यवहारिक रुपमा अघि बढाउँदा अध्ययन थप सहज बनेको कक्षा १० मा अध्ययनरत विद्यार्थी यमराज सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “सिप सिकेर दक्षता बढाएमा भविष्यमा केही गर्न सकिन्छ की भन्ने आत्मविश्वास दिलाएको छ ।”
सबै कुरा किताबमा लेखेको पढेर मात्र हुँदैन भन्ने निष्कर्षसहित प्रयोगात्मक कक्षालाई पनि प्राथमिकता दिएको निराजन माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मराज घर्ती मगरले बताउनुभयो ।
सफल व्यवसायी बन्न सके दक्षता दिलाउन र पशुपालन व्यवसाय तर्फ आकर्षित गर्नका लागि विद्यार्थीलाई दूधजन्य परिकार बनाउने तालिम सिकाइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले शिक्षासँगै व्यवहारिक ज्ञानलाई पनि विशेष महत्व दिएर शिक्षा प्रदान गर्ने गरेको छ ।”
नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर शर्माले मानिसलाई जीवनोपयोगी सिपले जीवन पर्यन्त सफल जीवन बिताउन सहयोग पुग्ने भएकाले विद्यालय तहदेखि नै विद्यार्थीलाई सीपहरू सिकाउन आवश्यक रहेको बताउनुभयो ।
“जीवनोपयोगी सीपले जीवनमा आइपर्ने समस्या र चुनौतीलाई सामना गर्न विद्यार्थीहरूमा सिप आवश्यक छ । सिपले विद्यार्थीलाई जिम्मेवार बनाउनुका साथै बौद्धिक क्षमतामा समेत सहयोग पुर्याउने गर्दछ ।”, उहाँले भन्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्