मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.कर्णद्वारा पदभार ग्रहण

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले आज पदभार ग्रहण गर्नुभएको छ ।
प्रदेश प्रमुख कार्यालयमा पुगेर उहाँले प्रदेश प्रमुखको पदभार ग्रहण गर्नुभएको हो ।
मधेस प्रदेशका निमित्त प्रमुख सचिव लालबाबु काबाडीले उहाँलाई स्वागत गर्दै प्रदेशको राजनीति अवस्था, शान्ति सुरक्षा सहितको प्रदेशको समग्र वस्तु स्थितिका विषयमा जानकारी गराउनुभयो ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रदेश प्रमुख डा.कर्णले मधेस प्रदेशलाई सीताको जननीको भूमि भन्दै यहाँको ऐतिहासिक र सांस्कृतिक पहिचानप्रति सम्मान व्यक्त गर्नुभयो ।
प्रदेश प्रमुख डा.कर्णले आफू पत्रकारमैत्री प्रदेश प्रमुखको रूपमा रहन चाहने बताउँदै सञ्चारकर्मीहरूको राय, सुझाव र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले संविधानको रक्षा गर्दै र न्यायपूर्ण रूपमा प्रदेशको सेवा गर्ने बताउनुभयो ।
मधेस प्रदेशको मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको विषयमा जनगुनासो बढेपछि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुखमा धनुषाका डा. सुरेन्द्र लाभ कर्ण नियुक्त गर्नुभएको थियो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्गलवार २५ गते शीतल निवासमा प्रदेश प्रमुख कर्णलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो ।
त्रिभुवन विश्व विद्यालयमा अर्थशास्त्रको प्राध्यापकको रूपमा लामो समय सेवा गरेर सेवा निवृत्त हुनुभएका कर्ण राष्ट्रिय योजना आयोगका सदस्य हुँदै मधेस प्रदेशको प्रदेश प्रमुखमा नियुक्त हुनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्