तपाईँ सुन्दै हुनुहुन्छः

अर्थशास्त्री डा. पौडेल विश्वका शीर्ष दुई प्रतिशत वैज्ञानिकको सूचीमा

काठमाडौँ । विश्वकै प्रतिष्ठित विश्वविद्यालय स्टानफोर्ड युनिभर्सिटी एल्सेभियरले संयुक्त रूपमा गरेका गहन अध्ययनपछि प्रकाशित गरेको सन् २०२५ को विश्वका शीर्ष वैज्ञानिकहरूको सूचिमा नेपालका ३१ जना वैज्ञानिक समावेश भएका छन्। तीमध्ये अर्थशास्त्री डा. उत्तम पौडेल पनि समावेश हुनुभएको छ।

डा. पौडेल विश्वका शीर्ष दुई प्रतिशत वैज्ञानिकको सूचीमा परेका पहिलो नेपाली अर्थशास्त्री बन्न सफल हुनु भएको हो।

हालसम्म डा. पौडेलले ५५ भन्दा बढी उच्चस्तरीय अनुसन्धान प्रकाशनहरू गर्नुभएको छ। पछिल्ला ४/५ वर्षको अवधिमा उहाँका अनुसन्धानहरूलाई १७ हजार ५०० भन्दा बढी पटक उद्धृत (citation) गरिएको छ। साथै, उहाँ २० भन्दा बढी अनुसन्धान प्रकाशनमा सह-लेखकका रूपमा समेत संलग्न रहनु भएको छ।

डा. पौडेलले त्रिभुवन विश्वविद्यालयबाट सन् २०२० मा विद्यावारिधि (PhD) पूरा गर्नुभएको हो। त्यसअघि उहाँले विदेशी विश्वविद्यालयबाट महाविद्यावारिधि (MPhil) समेत हासिल गर्नुभएको थियो। हाल उहाँ नेपालका तीनै तहका सरकारी नीति तथा योजना निर्माण, विश्लेषण र तिनको कार्यान्वयनमा प्रत्यक्ष रूपमा संलग्न रहनु भएको छ।

उहाँको विशेषता स्वास्थ्य अर्थशास्त्र, बृहत् अर्थशास्त्र (macroeconomics) र आर्थिक नीति विश्लेषणमा रहेको छ। साथै, अन्तर्राष्ट्रिय सहयोगी निकाय र नेपाल सरकारबिच विवेकशील तथा सन्तुलित आर्थिक सहकार्यको मोडेल विकासमा पनि उहाँको योगदान उल्लेखनीय रहेको बताइन्छ।

हाल डा. पौडेल राष्ट्रिय योजना आयोगमा वरिष्ठ अर्थशास्त्रीका रूपमा कार्यरत हुनुहुन्छ। उहाँले पछिल्लो एक वर्षमा आयोगका सात वटा विषयगत क्षेत्रका आयोजनाहरूको विश्लेषण, सङ्घको मध्यमकालीन खर्च संरचना निर्माण, १६औँ योजनाको कार्यान्वयन रणनीति निर्माण तथा राष्ट्रिय गौरवका आयोजनाहरूको GIS-आधारित विश्लेषणमा प्रत्यक्ष नेतृत्व गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button