जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि इलाम नगरपालिकालाई
इलाम । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि इलाम नगरपालिकाले जितेको छ ।

माङसेबुङ गाउँपालिका(२ स्थित डोलटारमा सम्पन्न १४ औँ संस्करणको प्रतियोगितामा इलाम नगरपालिकाले २५ स्वर्ण, १८ रजत र १८ कास्य पदकसहित उपाधि जितेको हो । इलाम नगरपालिकाले गत वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समेत जितेको थियो ।
प्रतियोगितामा १२ स्वर्ण, १२ रजत र सात कास्य पदकसहित रोङ गाउँपालिका दोस्रो, ११ स्वर्ण, २० रजत र २६ कास्य पदकसहित सूर्योदय नगरपालिका तेस्रो भएका छन् ।

प्रतियोगितामा स्वर्ण पदक विजेता इलाम नगरपालिकाले नगद रु १५ हजारसहित राष्ट्रपति रनिङ शिल्ड प्राप्त गरेको छ । रजत पदक विजेता रोङ गाउँपालिकाले रु १२ हजार र कास्य पदक विजेता सूर्योदय नगरपालिकाले नगद रु १० हजारसहित ट्रफि प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
जिल्ला खेलकुद विकास समिति इलामको आयोजना र माङसेबुङ गाउँपालिकाको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको थियो । इलाम सदरमुकाममा मात्रै सञ्चालन हुँदै आएको प्रतियोगिता पालिकाहरूको सहकार्यमा गत वर्षदेखि सदरमुकाम बाहिर सञ्चालन गर्ने थालेको जिल्ला खेलकुद विकास समिति अध्यक्ष खगेन्द्र बास्तोलाले बताउनुभयो ।
गत वर्ष फाकफोकथुम गाउँपालिकामा सञ्चालन भएको प्रतियोगिता आगामी वर्ष माई नगरपालिकामा सञ्चालन हुने जनाइएको छ । माङ्सेबुङमा भएको प्रतियोगिता समापनकै अवसरमा माई नगरपालिकालाई झण्डा हस्तान्तरण भएको छ ।








प्रतिक्रिया राख्नुहोस्