तपाईँ सुन्दै हुनुहुन्छः

सस्तोमा भारतीय दुग्ध खरिद गर्न सीमावर्ती क्षेत्रमा ठूला चिस्यान केन्द्र

जनकपुरधाम । नेपालका किसानहरुले उत्पादन गरेको दूधले बजार नपाएको र बजार पाए पनि समयमा भुक्तानी नपाएको गुनासो आइरहेको बेला सर्लाहीका सीमा क्षेत्रमा तीन वटा ठूला चिस्यान केन्द्र सञ्चालन गरेको पाइएको छ ।

सर्लाही जिल्लाको गोडैता नगरपालिकाको वडा नंं ३ सीमरा भगवतीपुरमा १० हजार तथा ३ हजार लिटरको गरेर कूल १३ हजार लिटर क्षमताको चिलिङ्ग सेन्टर सञ्चालन गरेको पाइएको छ । पोखराको सुजल डेरीको नाउँमा दुग्ध चिस्यान केन्द्र सञ्चालन गरेको पाइएको हो । 

विना अनुमति नै सो दुग्ध चिस्यान केन्द्र सञ्चालन गरेको पाइएको मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डे नेतृत्वको उच्च स्तरीय अनुगमन टोलीले ती चिस्यान केन्द्र फेला पारेको हो ।

सीमा क्षेत्रमै ठूलो परिणामको चिस्यान केन्द्र सञ्चालन गर्नुको पछाडि सीमावर्ती भारतीय क्षेत्रबाट दूध सङ्कलन गरेर ल्याएको हुन सक्ने अनुमान गरिएको छ ।

साथै दुग्ध विकास संस्थानले पनि एक वटा दुग्ध सङ्कलन केन्द्र सीमानामा नै स्थापना गरेको छ । सर्लाही जिल्लामा अनुगमन टोली पुग्दा भारतीय सीमानजिकै रहेको बलरामा दुग्ध विकास संस्थानले पाँच हजार ४००, काभ्रेको हिमालयन डेरीले पाँच हजार लिटरको दुग्ध चिस्यान केन्द्र गोडैता नगरपालिकामा सञ्चालन गरेको पाइएको छ ।

डिडिसीले बोर्ड राखे पनि हिमालयन र सुजलको बोर्ड नराखेको पाइएको अनुगमनमा संलग्न दुग्ध विकास बोर्डका पशु विकास अधिकृत उपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो । विदेशबाट दुग्ध तथा दुग्धजन्य पदार्थको आयातमा पूर्ण निषेध गरिएको बेला मोटरसाइकल मार्फत भारतीय क्षेत्रबाट दुग्ध सङ्कलन गरेर ल्याउने काम भइरहेको गुनासो किसानहरूको छ ।  

भारतमा करिब १५–१६ रुपैयाँ प्रतिलिटर दूध सस्तो भएकाले बढी मुनाफाका लागि चिस्यान केन्द्र सीमानामा राखेको हुनसक्ने अनुगमन टोलीले अनुमान गरेको छ ।

नेपालमा हाल ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुने गरेको तथ्याङ्क छ भने करिब ३० लाख घरपरिवारले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पशुपालन गरेर दुग्ध उत्पादन गर्दै आएका छन् । मधेश प्रदेशमा माग भन्दा बढी नै उत्पादन रहेको मधेश प्रदेशका कृषि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button