तपाईँ सुन्दै हुनुहुन्छः

मौलिक हक कार्यान्वयनका लागि सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानमा लेखिएका जनताका मौलिक हक कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

उहाँले शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका जनताका मौलिक हक कार्यान्वयनतर्फ सरकार लागिरहेको बताउनुभयो । “संविधानमा उल्लेख भएका जनताका मौलिक हक कार्यान्वयनका लागि राजनीतिक दलहरूको एकताबद्ध प्रयास आवश्यक छ”, आज सुर्खेतको गुर्भाकोटमा सामुदायिक आँखा उपचार केन्द्र (सर्जिकल) भवनको उद्घाटन गर्दै उहाँले भन्नुभयो । उपप्रधानमन्त्री खड्काले विकासको आकाङ्क्षा र आवश्यकता समयअनुसार बढ्दै जाने उहाँको भनाइ थियो । उहाँले पूर्वाधार निर्माण गर्दा दूरदृष्टी आवश्यक रहेको उल्लेख गर्नुभयो ।

आजका लागि नभई भावी पुस्ताका लागि पनि आधार र जग बन्ने गरी पूर्वाधार निर्माण जरुरी रहेको उहाँको भनाइ थियो । “कुनै पनि विकास निर्माण काम गर्दा आजका लागि होइन, पछिल्लो पुस्ताका लागि पुग्ने गरी काम गर्नुपर्छ”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो ।

उपप्रधानमन्त्री खड्काले राजनीति गर्नेहरू लोभ, डर, स्वार्थबाट मुक्त हुँदै पारिवारिक घेरा भन्दामाथि उठेर सिङ्गो देशका लागि काम गर्ने भावनाप्रति समर्पित हुन जरुरी रहेको बताउनुभयो । “अहिलेको नयाँ परिस्थितिले त्यो खालको राजनीतिक सोच, प्रतिबद्धता र सङ्कल्पको आवश्यकता ठानेको छ”, उहाँले भन्नुभयो, “राजनीतिक, भौगोलिक र सामाजिक चुनौतीहरू सामना गर्नका लागि राजनीति गर्नेमा इमान, निष्ठा र समर्पणको आवश्यकता छ ।”

उहाँले लोभबाट मुक्त हुनेहरू डरबाट मुक्त हुने बताउनुभयो । “यी सबै कुराबाट खारिएर उभिन सक्नेले समाज, गाउँ, क्षेत्र, प्रदेश र सिङ्गो राष्ट्रको उन्नति र प्रगतिका लागि योगदान दिन सक्छ, त्यसका लागि नेतृत्व गर्न सक्छ भन्ने नागरिकको अपेक्षा छ । त्यो खालको सोच भएकाहरूको एकताबद्ध राजनीतिक दलहरूको प्रयासका आधारमा चुनौती सामना गर्न सकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button