खानेपानीले खज्जरबासीमा ल्याएको खुशी

सल्यान । लिफ्ट प्रविधिबाट घरघरमा खानेपानी पुगेपछि सल्यानको त्रिवेणी गाउँपालिका–१ खज्जरका स्थानीयवासीमा खुसी थपिएको छ ।
पानीको खोजीमा २ घण्टासम्म रित्तो गाग्री बोकेर टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता हटेसँगै खज्जरका स्थानीयमा खुबी छाएको छ । लामो समयसम्म टाउकोमा नाम्लो र पिठ्यूँमा गाग्रो बोकेर सधैँ पानीको जोहो गर्ने बाध्यताको अन्त्य भएको स्थानीय लिला रोकाले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यहाँका स्थानीय महिलाहरूले बषौँदेखि २ घण्टा टाढाबाट हिँडेर खोलाको पानी ल्याउँथे । अहिले एक घर, एक धारा निर्माण भएपछि समस्याबाट मुक्ति पाइयो ।”
अर्का ५२ बर्षीय पूर्णबहादुर वलीले पानी नहुँदा मान्छे, बस्तुभाउ पाल्ने लगायतका दैनिक कामहरूमा असहजता उत्पन्न भएको बताउनुभयो । “बालबालिका पधेरोमा पानी लिन जाँदा पठनपाठन नै छुट्ने गरेको थियो ।”, उहाँले भन्नुभयो “पानी अभावका कारण केही स्थानीयहरू बसाइसराइ गरि दाङ तिर झरिसकेका छन् ।” गाउँपालिकाबाट खानेपानीको आपूर्ति भएको कारण अब यो क्रम घट्ने उहाँले विश्वास लिनुभयो ।
त्रिवेणी गाउँपालिका सल्यानले पाँच सय मिटरको उचाइबाट दुई स्थानमा लिफ्टबाट पानी पुर्याएपछि ५३ घरधुरीका करिब २ सय ४५ जना लाभान्वित भएका छन् ।
पालिकाले एक घर एक धारा सहित गौरवको आयोजना लागत १ करोड १९ लाख १९ हजार २ सय ८० रुपैयाँ लागतमा लिफ्ट प्रविधिबाट पानी पुर्याइएको हो । पालिका भित्रका नागरिकको मुख्य समस्यालाई पहिचान गरी पालिकाले पानीको मुहान नभएका स्थानमा लिफ्टिङ प्रविधिको माध्यमबाट घरघरमा पानी पुर्याउन थालिएको गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनुभयो ।
त्रिवेणी गाउँपालिकाको गौरवको रुपमा रहेको आयोजना २०८० साल वैशाख ३ तरुण निर्माण सेवा छत्रेश्वरी–२ सल्यानसँग सम्झौता भएकोमा २०८० माघ ८ मा सम्पन्न भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्