तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालमा नवजात शिशु छोडेर सुत्केरी महिला फरार 

बीरगंज । नारायणी अस्पतालमा नवजात शिशु छोडेर सुत्केरी महिला फरार भएकी छन् । 

छोरी जन्माएको भन्दै घरपरिवारले अस्पतालमै झगडा गरी तनाव दिएपछि बीरगंजको नारायणी अस्पतालमा एक सुत्केरी महिलाले नवजात शिशुलाई छोडेर फरार भएकी हुन । 

वीरगन्जस्थित नारायणी अस्पतालमा शनिवार बिहान ६ः३० बजे सीता देवीले बालिकालाई जन्म दिएकी थिइन् । तीन केजीकी शिशु स्वस्थ रहेको अस्पतालले जनाएको छ । सुत्केरी व्यथा लागेपछि सिता देवी सासू आमा बेडी देवीसँगै फागुन ११ गते बेलुका नारायणी अस्पताल आएकी थिइन् । उनीहरूले आफ्नो ठेगाना बीरगंज महानगरपालिका ‘रानीघाट भनेर टिपाएका छन् ।  

छोरी जन्मिएपछि सीता देवीसँग सासु बेडीले झगडा गरेको अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन् । सीताका यसअघि तीन छोरी जन्मिएका थिए । 

शनिवार दिनभर अस्पतालमै रहेकी सुत्केरी सिता र उनकी सासु बेडी देवी साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर बच्चा छोडेर फरार भएका छन् । 

बच्चा छोडेर फरार सुत्केरी महिला हालसम्म फेला नपरेको र उनको खोजी भइरहेको नारायणी अस्पतालकी नर्सिङ इन्चार्ज हेमा थापाले जानकारी दिनुभयो । नवजात शिशु स्वस्थ रहेको र एनआईसीयूमा राखिएको थापाले बताउनुभयो । 

नवजात शिशु अस्पतालमै छोडेर फरार रहेकी सुत्केरी महिलालाई घटना लगतै अस्पताल वरपर खोजतलास गरिएको र नभेटिएपछि प्रहरीलाई जानकारी गराइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले बताउनुभयो । 

सुत्केरी हुन आएकी महिलाले गलत ठेगाना टिपाएको कारण खोजीमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले बताउनुभयो ।

शिशु छाडेर भाग्ने महिलाले अस्पतालमा टिपाएको ठेगानामा त्यो नाम र हुलियाको मानिस नभेटिएको हुँदा पहिले नै योजना बनाएर घटना घटाएको आशङ्का गरिएको डिएसपी थापाले बताउनुभयो । सुत्केरी महिलाको खोजतलास जारी रहेका उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button