तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा सवारी दुर्घटनाबाट सात महिनामा ५९ जनाको मृत्यु 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन

चितवन । चितवनमा चालु आर्थिक वर्ष ०८०/०८१को सात महिनामा सवारी दुर्घटनाबाट ५९ जनाको मृत्यु भएको छ भने ४ सय १९ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आवको साउन देखि माघ सम्म २ सय २३ वटा सवारी साधन दुर्घटनामा परेका थिए । 

सबैभन्दा बढी मृत्यु भित्री सडकमा 
जिल्लामा चालु आवको साउन देखि माघसम्म भएको सवारी दुर्घटनाबाट सबैभन्दा बढी मृत्यु भित्री सडकमा भएको छ भने कम पृथ्वी राजमार्गमा भएको छ । कार्यालयले दिएको तथ्याङ्क अनुसार भित्री सडकमा २७ जनाको मृत्यु भएको छ भने सबैभन्दा कम पृथ्वी राजमार्गमा दुई जनाको मृत्यु भएको छ । 

सो अवधिमा भित्री सडकमा सवारी दुर्घटनाबाट २२३ जना घाइते भएका थिए भने पृथ्वी राजमार्गमा सातजना घाइते भएका छन् ।

यस्तै दोस्रो सबैभन्दा बढी मृत्यु पूर्व पश्चिम लोकमार्गमा र नारायणगढ मुग्लिन सडक खण्डमा १२/१२ जनाको मृत्यु भएको छ भने शहरी खण्डमा ६ जनाको मृत्यु भएको छ । सो अवधिमा पूर्वपश्चिम लोकमार्गमा सवारी दुर्घटनाबाट १३८ जना, नारायणगढ मुग्लिन सडकमा ५६ जना र शहरी खण्डमा १३ जना घाइते भएको कार्यालयले जानकारी दिएको छ । 

चितवनका ट्राफिक प्रहरी प्रमुख सुरेश सुवेदीले पछिल्ला समय चितवनमा भित्री सडकको विस्तार तथा फराकिलो भएसँगै चालकले लेन अनुशासन पालन नगरेका कारण भित्री सडकमा बढी दुर्घटना र मानवीय क्षति बढेको बताउनु भयो । ‘भित्री सडकमा बिशेषगरी दुईपांँग्रे सवारीसाधन, ओभरस्पीड,मापसे र लापरवाही तरीकाले चलाउँदा बढी दुर्घटना हुने सोही अनुसार मृत्युको सङ्ख्या बढेको पाएका छौँ ।’ सुवेदीले भन्नुभयो । 

राजमार्ग, मुख्य सडक र शहरी खण्डमा चालकले सावधानी अपनाउने र ट्राफिक प्रहरीको नियमित चेकजाँचका कारण पनि दुर्घटनासँगै मानवीय क्षति अन्य सडकमा भन्दा कम भएको उहाँले बताउनु भयो । ‘राजमार्गमा अधिकांश चालक सक्षम र सचेत भएर चलाएका पाएका छौँ, उहाँले भन्नुभयो, कुनै अपवाद र छिटफुट यान्त्रिक घटना बाहेक पछिल्लो समय यस्ता सडकमा मानवीय क्षति कम भएको छ । ’

प्रतिक्रिया राख्नुहोस्

Back to top button