तपाईँ सुन्दै हुनुहुन्छः

वडा कार्यालयभित्र एक महिला मृत फेला 

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ को वडा कार्यालयभित्र एक महिला मृत फेला परेकी छन् । 

आज बिहान वडा कार्यालयको सभा हलभित्र युवती झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बिहान योगाभ्यास कक्षा सञ्चालन हुने उक्त हलमा पुग्ने व्यक्तिहरूले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत फेला परेकी ती महिला भीमदत्त नगरपालिकामा कार्यरत नगर प्रहरी हरिश महराकी श्रीमती  २० वर्षीया प्रमीला धामी रहेको बताइएको छ । 

नगर प्रहरीलाई वडा कार्यालयकै सुरक्षा हेर्ने गरी आवासका लागि कोठा दिइएको थियो । उनीसँगै उनकी श्रीमती पनि सोही वडा कार्यालयकै एक कोठामा बस्ने गरेकोमा गएराति उक्त घटना भएको हो । दार्चुला घर भएका उनीहरू दुवैले ६ महिना अघि भागी विवाह गरेका थिए । 

घटनाबारे अनुसन्धान कार्य अगाडि बढाइएको भीमदत्त नगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रवीन्द्र प्रसाद देवकोटाले बताउनुभयो । 

वडा कार्यालयको सिसिटिभी फुटेज जाँचसँगै घटनास्थलको मुचुल्का तयार गरी मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button