‘राष्ट्रियसभाको गरिमा र आवश्यकता पुष्टि हुने गरी काम गर्न जरुरी’

काठमाडौँ । सांसदहरुले राष्ट्रियसभाको गरिमा र आवश्यकता पुष्टि हुने गरी काम गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।
नेपाली काँग्रेसबाट राष्ट्रियसभामा नवनिर्वाचित सांसदहरूलाई काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज स्वागत गर्दै नेपाली काँग्रेस राष्ट्रियसभाको दलका नेता रमेशजङ्ग रायमाझीले राष्ट्रियसभाको भूमिकालाई लिएर विभिन्न टीकाटिप्पणी हुन थालेको भन्दै सभाको गरिमा र आवश्यकता पुष्टि हुने गरी काम गर्नुपर्ने बेला आएको बताउनुभयो ।
स्वागत कार्यक्रममा सांसदहरुले प्रदेश र स्थानीय तहका अधिकारलाई सुनिश्चित हुने गरी कानून निमार्णका बाँकी काम पूरा गर्नुपर्ने र जनताको आवश्यकता र अपेक्षा बमोजिम कार्य गरी जनअसन्तुष्टिलाई सम्बोधन गर्नेतर्फ सांसदहरुले भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं नव निर्वाचित सांसद कृष्णप्रसाद सिटौलाले जनताको पक्षमा काम गरी राष्ट्रिय हित प्रवर्द्धनमार्फत लोकतान्त्रिक पद्धतिलाई सुदृढ तुल्याउनु आजको आवश्यक भएको बताउनुभयो ।
सांसद सिटौलाले लोकतन्त्र र सिङ्गो राष्ट्रलाई बलियो बनाउन नेपाली काँग्रेसले पार्टी भित्रको एकताका साथै अन्य राजनीतिक दल र नेतृत्वसँग निरन्तर संवाद र सहकार्यमार्फत नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्