नेपाल–भारत सुरक्षा अधिकारीहरूको बैठक भारतको मधुबन्नीमा सम्पन्न
जनकपुरधाम । नेपाल भारतको सुरक्षा अधिकारीहरूको बैठक भारतको मधुबन्नी जिल्लामा आज सम्पन्न भएको छ । बैठकमा सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रणका लागि थप प्रभावकारी संयन्त्रको परिचालन गरिने सहमति भएको छ ।

साथै सीमा क्षेत्रबाट हुने गरेको लागु औषधको नियन्त्रण, अवैध मदिराको कारोबारको नियन्त्रण, मानव बेचबिखनमा नियन्त्रण, दशगजा क्षेत्रमा हुने गरेका अतिक्रमणलाई कडाइका साथ हटाउने, नक्कली नोटको कारोबार नियन्त्रण गर्ने विषयमा पनि सहमति भएको छ ।
भारतको विहारमा हुन लागेको चुनावलाई दृष्टिगत गरी सीमा क्षेत्रको सुरक्षा व्यवस्था मजबुत बनाइने र शान्ति सुरक्षाका लागि थप सहकार्य गरिने भएको छ ।
बैठकमा नेपाली पक्षको नेतृत्व धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले गर्नुभएको थियो भने भारतीय पक्षको नेतृत्व मधुबन्नी जिल्लाका डि एम अरविन्द कुमार बर्माले गर्नुभएको थियो ।
बैठकमा धनुषा, महोत्तरी, सिरहा तथा सप्तरीका प्रमुख जिल्ला अधिकारीहरू, प्रहरी उपरीक्षकहरू, सशस्त्र प्रहरी उपरीक्षकहरू तथा राष्ट्रिय अनुसन्धान विभागका कार्यालय प्रमुखहरूको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्