‘सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा नै समाजवादको यात्रा’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा भनेर सुरु गरिएको यात्रा नै समाजवादको यात्रा भएको बताउनुभएको छ ।
तेइसौँ मजदुर बलिदान दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार नियन्त्रण सहित सुशासन कायम गरेर मात्र समाजवादको आधार तयार हुने बताउनुभयो । “गरिब एवं किसानको हक अधिकार स्थापित नहुँदासम्म समाजवाद आउन सक्दैन, सबैले आफ्नो क्षमताअनुसारको काम गर्ने, कामअनुसारको दाम पाउने अवस्था आउनुपर्छ,” प्रधानमन्त्रीले भन्नुभयो, “त्यसकारण सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा एक अर्कामा अभिन्न रूपले जोडिएका अवयव हुन्, समाजवादको आधार तयार पार्ने कुरा हो ।”
समाजवादी क्रान्तिको नेतृत्व मजदुर–किसानकै हुने भएकाले अबको आन्दोलनमा उहाँहरूको भूमिका बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले मजुरलाई अझ राम्रोसँग सङ्गठित हुने र विचारमा अझ बढी स्पष्टता हासिल गर्न सुझाव दिनुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिक्रियावादीले धावा बोल्न खोजेको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो ।
शान्ति प्रक्रियाका केही काम बाँकी रहेकाले सबै सहिद तथा बेपत्ता परिवारले राज्यका तर्फबाट पाउनुपर्ने परिपूरण एवं सम्मान पाउन नसकेको जनाउँदै प्रधानमन्त्रीले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संसद्ले पारित गरेपछि बलिदानप्रति गर्व हुने विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्