तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक अभावमा कुनै पनि नागरिक उपचारबाट वञ्चित हुनुपर्दैन : स्वास्थ्य मन्त्री जोशी 

चितवन  । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री उत्तम जोशीले पैसाको अभावमा कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपर्ने बताउनु भएको छ ।

प्रदेशस्तरीय बकुलहर रत्ननगर अस्पतालको न्यूनतम सेवा मापदण्ड फ्लोअप मापन कार्यक्रममा बोल्दै जोशीले जनताको भावनासँग जोडिएको संस्था भएकाले गुनासो सम्बोधन हुनेगरी सेवा प्रवाह गर्न र सरल, व्यवस्थित र गुणस्तरीय अस्पताल बनाउन कुनै कसर बाँकी नराख्न चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिनुभयो ।

सो अवसरमा उनले प्रदेश सरकारको सामाजिक सेवा इकाई मार्फत विपन्न, असहाय र सीमान्तकृतले उपचार गर्न पाउने नैसर्गिक अधिकार भएकाले पैसा नभएकै कारण कोही पनि बिरामी फर्कनुपर्ने उहाँको भनाइ थियो ।

स्वास्थ्य बिमाको पहुँच नभएकाहरूको लागि बकुलहर रत्ननगर अस्पतालमा तीनवटा उपचार कोष स्थापना भएको बताउँदै उहाँले भन्नुभयो , ‘प्रदेश सरकारबाट सामाजिक सेवा इकाइ, रत्ननगर नगरपालिकाबाट असहाय विपन्न उपचार कोष र अस्पताल व्यवस्थापन समितिमार्फत शहीद परिवार तथा जनआन्दोलन घाइते एवं अल्पसङ्ख्यकका लागि उपचार गर्ने व्यवस्था छ । कोही पनि बिरामी उपचार नपाएर फर्कनु पर्दैन ।’

प्रदेश सरकारले दसवटा अस्पताल स्तरोन्नति गर्नेक्रममा बकुलहर रत्ननगर अस्पताललाई १५ शय्याबाट एकसय शय्याको अस्पताल बनाउन पहल गरेको बताउँदै उहाँले यस अस्पतालमा शैक्षिक कार्यक्रम ल्याउन पनि आफू लागिपरेको बताउनुभयो  । उहाँले प्रदेशस्तरीय आयुर्वेद अस्पतालको पनि स्तरोन्नति गरी २५ शय्याको बनाइएको र उत्पादन केन्द्रका लागि मेशिनसमेत जडान भैसकेको जानकारी दिनुभयो ।

आफू स्वास्थ्य मन्त्रीका रुपमा पदभार ग्रहण गरेयता ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका, सीमान्तकृत, अल्पसङ्ख्यक, विपन्न र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा, स्वयंसेविकाको सम्मानको व्यवस्था गरिएको उहाँले बताउनु भयो । सरकारी अस्पतालमा सेवाबाट वञ्चित हुन नपरोस् भनेर आफूले सरकारी अस्पतालमा थन्किएर बसेका मेसिनहरूको मर्मतका लागि बायोमेट्रिक वर्कसप स्थापना गरिएको उहाँले बताउनु भयो ।

बकुलहर रत्ननगर अस्पतालको सेवा प्रवाहमा ८४ प्रतिशत प्रगति भएकोमा यसलाई अझै सुधार गरी उत्कृष्ट अस्पताल बनाउन उनले निर्देशन दिनुभयो । अस्पतालले कुनै पनि विषयमा दोस्रो पक्षसँग सम्झौता गर्दा वा निर्णय प्रक्रियाका लागि अनिवार्यरुपमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्न उहाँले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपालराज कर्माचार्य र मेसु मदन ज्ञवालीसँग अनुरोध गर्नुभयो ।

स्वीट्जरल्याण्डका स्वयंसेवीहरूको संस्था शान्ति मेड नेपालका संस्थापक डा.रुथ गोन्सेथले विभिन्न च्यारिटी फन्डमार्फत बकुलहर रत्ननगर अस्पतालमा भवन निर्माण, मेसिन उपकरण तथा १७ जना जनशक्तिको व्यवस्था गर्दै आएको बताउनु भयो । धेरै नागरिकले सहजरुपमा स्वास्थ्य उपचार पाउन् भन्ने उद्देश्यले आफ्नो संस्थाले सहयोग गर्दै आएको र गाइनोकोलोजी भवनको पनि तीन महिनाभित्र निर्माण सम्पन्न हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button