जनकपुरधाम उपमहानगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सम्पन्न
जनकपुरधाम । जनकपुरधाम नगर स्तरीय तीन दिने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
रामजानकी बहुराष्ट्रिय रङ्गशालामा आयोजना गरिएको समापन कार्यक्रममा सहभागी भएका विद्यालयका विजयी विद्यार्थी खेलाडीहरूलाई प्रमुख मनोज कुमार साहले पदक, शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नुभयो । एथलेटिक्स, भलिबल र कराँते प्रतियोगिता अन्तर्गत छात्र तथा छात्रातर्फ प्रथम, द्वितीय तथा तृतीय हुनेलाई शिल्ड, कप, पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै जनकपुरधाम उपनगरपालिकाका प्रमुख मनोज कुमार साहले विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई उपमहानगरपालिकाले शैक्षिक क्यालेन्डरमा नै समावेश गरेर प्रत्येक वर्ष आयोजना गर्ने बताउनुभयो ।
उहाँले सुरुमा ६ वटा खेल गराउने कार्यक्रम रहेकोमा समयको अभावका कारणले एथलेटिक्स, भलिबल र कराँते प्रतियोगिताको आयोजना गरेको बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकामा रहेको १ सय ५० वटा विद्यालयहरू भएको र राम्रो तयारी गरेर अर्को पटकको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गरिने पनि नगरपालिकाले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष पुण्य प्रताप यादवको अध्यक्षतामा भएको समापन कार्यक्रममा एथलेटिक्स प्रशिक्षक कन्हैया कर्णले प्रतियोगितामा १२ वटा विद्यालयहरू सहभागी रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा १० वडाअध्यक्ष मिथिलेश कर्ण, वडा नंं ९ का वडाध्यक्ष परमेश्वर साह, जितबहादुर राउत, जनकपुरधाम उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख अञ्जु पाण्डेसहितका व्यक्तिहरू समापन कार्यक्रममा सहभागी रहेका थिए ।








प्रतिक्रिया राख्नुहोस्