कार्यसम्पादनमा बर्दघाट नगरपालिका जिल्लामै पहिलो

नवलपरासी,पश्चिम् । पश्चिम नवलपरासीका सात स्थानीय तहको कार्यसम्पादनको मूल्याङ्कनमा बर्दघाट नगरपालिका जिल्लामै पहिलो भएको छ ।
सातै वटा स्थानीय तहमध्ये आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्याङ्कनमा बर्दघाट नगरपालिका पहिलो भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार बर्दघाटले ४२ दशमलव ७४ अङ्क प्राप्त गरेको हो । तर बर्दघाटले अघिल्ला आर्थिक वर्षमा प्राप्त गरेको अङ्क भन्दा यस पटक कम अङ्क मात्र प्राप्त भएपनी पहिलो भएको छ। जिल्लाका सबै स्थानीय तहले प्राप्त गरेको अङ्क विगतको तुलनामा कम देखिएको छ ।
यसैगरी ३६ दशमलव ८८ अङ्क प्राप्त गरी रामग्राम नगरपालिका दोस्रो भएको छ भने ३४ दशमलव ६४ अङ्कका साथ सुनवल नगरपालिका तेस्रो भएको छ । सात पालिका मध्ये प्रतापपुर गाउँपालिका सबैभन्दा कमजोर देखिएको छ । प्रतापपुरले १८.३६ अङ्क प्राप्त गरेको छ भने सुस्ताले २८.४०, पाल्हीनन्दनले २३.०८ र सरावलले २०.१६ अङ्क प्राप्त गरेको छ । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्याङ्कन सार्वजनिक गरेको हो ।
जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वार्षिक समीक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे÷नगरेको जस्ता सूचकहरूका आधार मूल्याङ्कन गरिएको छ ।
त्यस्तै, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये संस्थागत सुत्केरी महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका विभिन्न सूचकहरू रहेका छन् ।
स्थानीय तहलाई संघीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्यसम्पादन मूल्याङ्कनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ । कार्यसम्पादन मूल्याङ्कन गर्दा आयोगले स्थानीय तहसँग तथ्याङ्कहरू मागेर त्यसको आधारमा र उपलब्ध तथ्य सही वा गलत भएको प्रमाणित गरेर सोही आधारमा अङ्क प्रदान गरिन्छ ।कार्यसम्पादनमा जिल्लामै पहिलो स्थान हासिल गर्नुमा बर्दघाटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाको महत्वपूर्ण भूमिका रहेको थियो ।
प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ को दफा ७ अनुसार कार्य सम्पादन मूल्याङ्कन गरी अङ्क प्रदान गरिएको र प्राप्त अङ्कमा चित्त नबुझे ७ दिनभित्र निवेदन दिन भनिएको छ ।








प्रतिक्रिया राख्नुहोस्