तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा

काठमाडौँ।पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिउँसो देशभर नै बदली र वर्षाको सम्भावना छ । तापक्रम स्थिर रहनेछ । “अहिले मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भएको छ, दिउँसो सबै प्रदेशका एक–दुई स्थानमा भए पनि वर्षा हुने देखिन्छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ”, उहाँले भन्नुभयो ।

मौसमविद् अधिकारीले तुलनात्मकरूपमा पछिल्ला दिनमा देशका सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी असर रहेकामा आज उक्त प्रणाली गण्डकी, बागमती हुँदै पूर्वी भेगतर्फ सरिरहेकाले बढी प्रभाव हुने अनुमान गरिएको बताउनुभयो । आजभन्दा भोलि बिहीबार बढी वर्षाको सम्भावना रहेको र शुक्रबारदेखि मौसममा क्रमिकरूपमा सुधार हुने महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली हुनेछ । मधेस प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनर चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी पहाडी भागका एक वा दुई स्थानमा मेघगर्ज र चट्याङसहित सामान्य वर्षा हुने सम्भावना छ ।

मौसम विश्लेषण

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था

मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको एक वा दूई स्थानमा हल्का वर्षा भइरहेको छ ।

२०८० फाल्गुन ०९ गते  (बुधबार)

दिउँसो:  देशभर आंशिक देखि साधारणतया बदली रहने छ। मधेश प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० फाल्गुन १० गते  (बिहीबार)

दिउँसो:  देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशहरुका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेशका र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ  ।

राती : देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेशका र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ  ।

२०८० फाल्गुन ११ गते  (शुक्रबार)

दिउँसो:  देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ  ।

राती : देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ  ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

मधेश प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत  कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

 नोटːमौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली बारे बुझ्न यहाँ  क्लिक गर्नुहोला।

प्रतिक्रिया राख्नुहोस्

Back to top button