तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारले चलचित्र क्षेत्रलाई महत्व दिएको छ : मुख्यमन्त्री जमरकट्टेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेश सरकारले चलचित्र क्षेत्रलाई महत्व दिएको बताउनुभएको छ ।

हेटौँडामा मङ्गलवार चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशालाको समापन कार्यक्रममा उहाँले प्रदेश सरकारले चलचित्र क्षेत्रको विकासमा काम गर्ने रणनीति निर्माण गरिरहेको बताउनुभयो ।

मुख्यमन्त्री जमरकट्टेलले कला संस्कृतिको क्षेत्रमा काम गर्न र सरकारले गरेको लगानी खेर जान नदिन नीति निर्माणमा अग्रसरता देखाएको बताउनुभयो । चलचित्रले समाजको विद्यमान अवस्था झल्काउनुका साथै गरिखाने वर्गको पक्षमा भूमिका खेलेको उहाँको भनाई थियो ।

मुख्यमन्त्री जम्कट्टेलले दोलखाको डाङ्डुङे डाँडा, मकवानपुरको थाहा नगरपालिका, इन्द्रसरोवर र धादिङको रुविभ्याली गाउँपालिकालाई फिल्म सिटी बनाउन प्रयास भइरहेको बताउनुभयो । उहाँले चलचित्र ऐन बनाउन प्रदेश सरकारले ड्राफ्ट निर्माणको चरणमा रहेको भन्दै आगामी प्रदेशसभाको हिउँदे अधिवेशनले सो विधेयक पारित गरी ऐनका रुपमा जारी गर्ने सरकारको तयारी रहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटाले चलचित्र क्षेत्रको व्यवस्थापनका लागि कानुन निर्माण कार्य अघि बढाएको बताउनुभयो । उहाँले लघु चलचित्र निर्माणका लागि कार्यविधि बनाएर कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । चलचित्र लेखनका लागि प्रदेश सरकारले पटकथा लेखन तालिम सञ्चालन गरी सहयोग गर्ने काम अघि बढाएको समेत उहाँले बताउनुभयो ।

चलचित्र पत्रकार संघ नेपाल स्थापनाको २५ बर्ष पुरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले फागुन ५ देखि ८ गतेसम्म हेटौँडामा राष्ट्रिय भेला आयोजना गरेको थियो । सिनेमा पर्यटनको आधारलाई अघि सार्दै सङ्घले राष्ट्रिय भेलामा सिनेमा संवाद, अन्तरक्रिया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुत लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको थियो ।

तस्विर : मिलन ढुंगाना / रेडियो नेपाल

प्रतिक्रिया राख्नुहोस्

Back to top button