तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशका ८ लाख ९३ हजारलाई दादुरा–रुवेलाको खोप लगाइँदै

विराटनगर । दादुरा–रुवेला निवारणका लागि कोशी प्रदेशमा खोप अभियान सञ्चालन हुने भएको छ ।

दक्षिण पूर्वी एसियाबाट सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने लक्ष्य अनुसार नेपालमा पनि राष्ट्रव्यापी अभियान शुरु गर्न लागिएको हो ।

अभियान अन्तर्गत कोशी प्रदेशमा फागुन १३ गतेदेखि चैत ३ गतेसम्म खोप लगाइने कार्यक्रम रहेको छ । राष्ट्रिय अभियान फागुन १३ देखि चैत ७ गते सम्म भएपनि कोशी प्रदेशमा चैत ३ गते भित्रमा लक्षित जनसङ्ख्यालाई खोप लगाई सक्ने गरि तयारी गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

मन्त्रालयमा आज बसेको प्रदेश स्तरीय खोप समन्वय समितिको बैठकमा सो जानकारी गराइएको हो । अभियान अन्तर्गत कोशी प्रदेशका ९ महिना देखि १५ वर्ष सम्मका ८ लाख ९३ हजार ९३४ जनालाई खोप लगाइने निर्देशक बस्नेतले जानकारी दिनुभयो ।

फागुन १३ गते कोशी प्रदेशका भोजपुर, तेह्रथुम, मोरङ र उदयपुरमा अभियानको शुभारम्भ हुने भएको छ । अन्य १० जिल्लामा फागुन १६ देखि २७ गते सम्ममा अभियान शुरु गरि चैत ३ गते भित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button