निर्वाचनमा गोरखा गएको औचित्य पुष्टि हुने गरी काम गर्छु : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाले चिर कालसम्म स्मरण गर्ने गरी सो जिल्लाको विकासमा लागिपरेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री दाहालले गोरखाको विकासमार्फत आफू निर्वाचनका लागि गोरखा गएको औचित्य पुष्टि गर्ने स्पष्ट गर्नुभएको हो ।
विगतमा समयको दबाबले अपेक्षाअनुसारको काम गर्न नसकेको उल्लेख गर्दै उहाँले यसपटक भने आफूले गोरखालाई उच्च प्राथमिकतामा राखेको दोहोर्याउनुभयो । उहाँले आँपपिपल अस्पतालको क्षमता अभिवृद्धिका लागि मन्त्रिपरिषद्बाट निर्णय भइसकेको जानकारी गराउँदै केही दिनभित्र बुढीगण्डकी आयोजना शिलान्यास हुने जानकारी दिनुभयो ।

उहाँले हाल बन्द रहेको गोरखकाली रबर उद्योग सञ्चालनका लागि गम्भीर छलफल भइरहेको जानकारी गराउँदै रुग्ण उद्योगहरू सञ्चालनका लागि अध्ययन भइरहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले कृषि क्याम्पस र कृषि तथा प्रविधि पार्क निर्माण गर्ने सोचमा आफू रहेको सुनाउनुभयो । उहाँले केही समयअघि भएको आफ्नो चीन भ्रमणका क्रममा पनि यस विषयमा छलफल भएको जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्