तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले सञ्चारमाध्यम सम्बन्धी कानुनहरू समयानुकूल बनाउन लागेको छ : मन्त्री शर्मा 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सञ्चार माध्यमसम्बन्धी कानुनहरू समयानुकूल बनाउन लागेको बताउनुभएको छ । 

राष्ट्रिय समाचार समितिको ६३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक र आम सञ्चार विधेयक अर्थ मन्त्रालयमा रहेको र सरकारले संसद्को यसै अधिवेशनमा प्रस्तुत गर्ने तयारी गरेको जानकारी दिनुभयो । 

मन्त्री शर्माले सञ्चारमाध्यमहरू सरकार र नागरिक बीचको पुल भएकाले सोही अनुसारको भूमिका निभाउन सञ्चार जगतलाई आग्रह गर्नुभयो । 

समारोहमा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले राससले समाचार उत्पादन र वितरणमा उच्च व्यावसायिकता प्रदर्शन गर्दै आएको बताउनुभयो । 

राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले राससले समावेशी समाचार कक्षको परिकल्पना गरेको जानकारी गराउँदै मातृभाषामा समेत समाचार सेवा सुरु गरेको जानकारी गराउनुभयो  । 

यस अवसरमा राससले रेडियो नेपाललाई उत्कृष्ट सेवाग्राहीका रुपमा प्रशंसा पत्र प्रदान गरेको छ । 

समारोहमा रासस अनुभव र अनुभूति पुस्तकको समेत विमोचन गरिनुका साथै विभिन्न पुरस्कार तथा सम्मान पनि वितरण गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button