वीरगन्जमा सूचना प्रविधि प्रतियोगिता ह्याकफेस्टको आयोजना
वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेजमा मधेसकै पहिलो सूचना प्रविधि प्रतियोगिता ह्याकफेस्टको आयोजना गरिएको छ ।

सूचना प्रविधिको बढ्दो प्रयोगसँगै यसलाई थप परिष्कृत गरी प्रविधिमैत्री बनाउनका लागि ह्याकाथोन प्रतियोगिताको आयोजना गरिएको हो । वीरगञ्ज पब्लिक कलेजको व्यवस्थापनमा विभिन्न संघ संस्थाहरूको सहयोग र सहकार्यमा वीरगञ्जमा पहिलो पटक सूचना प्रविधिसम्बन्धी प्रतियोगिताको आयोजना गरिएको वीरगञ्ज पब्लिक कलेजका प्राध्यापक वासुदेवलाल कर्णले बताउनुभयो ।
यसअघि काठमाडौँ उपत्यकामा मात्रै सीमित रहेको यो ह्याकाथोन प्रतियोगिता वीरगन्जमा पहिलो पटक आयोजना गरिएको कर्णले दाबी गर्नुभयो । प्रतियोगितामा देशभर ४७ वटा कलेजका स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरूले सहभागिताका लागि नाम दर्ता गराएका छन् ।
उनीहरूमध्ये पहिलो चरणमा अनलाइन माध्यमबाट आयोजना गरिएको प्रतियोगितामा २० वटा टिम छनोट भएको र दोस्रो चरणको प्रतियोगितामा १० वटा समूह छनोट भएका छन् । छनौट भएका १० वटा समूहबीच अहिले प्रतिस्पर्धा गराइएको छ ।
अब तेस्रो चरणको प्रतियोगितामा ४८ घण्टासम्म लगातार कोडिङ गरेर शनिबार अन्तिम प्रतिस्पर्धाका विजेता घोषणा गर्ने तयारी रहेको बीरगंज पब्लिक कलेजले जनाएको छ ।
प्रतियोगिता सहभागी विद्यार्थीहरूले निर्माण गर्ने विभिन्न सफ्टवेयर प्रोग्रामहरू र प्रविधिको आधारमा उत्कृष्ट छनोट गरिने छ ।
प्रतियोगिताले नेपालभरिका विद्यार्थीहरूसँग भेट गराउने र नयाँ कुरा सिक्ने अवसर पाएको प्रतियोगिताका सहभागी झापाका विद्यार्थी अच्युत चापागाईँले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्