तपाईँ सुन्दै हुनुहुन्छः

लागूऔषध पुनःस्थापना केन्द्रहरूको अनुगमन 

नेपालगन्ज । बाँकेमा लागूऔषध प्रयोगकर्ताको उपचार तथा पुनःस्थापनाका लागि सञ्चालनमा रहेका पुनर्स्थापना केन्द्रहरूको अनुगमन गर्न सुरु गरिएको छ । 

गृह मन्त्रालयद्वारा स्वीकृत कार्यविधि अनुरूपको मापदण्ड अनुसार सञ्चालन भएका छन् या छैनन् भनेर बाँके प्रशासनले अनुगमन थालेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीको नेतृत्वमा खटिएको टोलीले प्रयास नेपाल नेपालगन्ज, नवकिरण पुनर्स्थापना केन्द्र र प्रेरणा पुनर्स्थापना केन्द्रको अनुगमन गरेको छ । अनुगमनका क्रममा तीन वटै केन्द्रले गृह मन्त्रालयबाट आबद्धता प्राप्त गरेको र आधारभूत मापदण्ड पूरा गरेको पाइएको छ ।

प्रयोगकर्ताहरूबाट आर्थिक अवस्था हेरेर न्यूनतम ६ हजारदेखि १५ हजार रुपैयाँसम्म सेवा शुल्क उठाउने गरेको र अनुगमन हुँदाका बखत तीन वटै केन्द्रबाट कुल ७६ प्रयोगकर्ताहरूले उपचार सेवा लिइरहेको पाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । पुनर्स्थापना केन्द्रमा सरसफाई, पुस्तकालय सुविधा, गुणस्तरीय चिकित्सकीय सुविधा र सुरक्षा जस्ता विषयहरूमा अझ बढी संवेदनशील भई जिम्मेवार र जबाफदेही बन्न प्रशासनले निर्देशन दिएको उहाँले बताउनुभयो ।

लागूऔषध प्रयोगकर्ताको सङ्ख्या अन्य जिल्लाको तुलनामा बढी भएकै कारण उपचार तथा पुनर्स्थापना केन्द्रको सङ्ख्या पनि बढी नै रहेको छ । जिल्लामा २२ वटा उपचार केन्द्र दर्ता भएपनि सेवा सञ्चालन भने २० वटाले मात्र गरिरहेका छन् । सञ्चालनमा रहेका २० वटा मध्ये महिला प्रयोगकर्तालाई मात्र लक्षित गरेर एउटा उपचार केन्द्र सञ्चालन भइरहेको पोखरेलले बताउनुभयो । हाल नवदृष्टि महिला उपचार तथा पुनर्स्थापना केन्द्रमा २३ जना महिला लागूऔषध प्रयोगकर्ताहरूले सेवा लिइरहेका छन् ।

लागूऔषधको उपभोग र कारोबारको दृष्टिकोणबाट बाँके जिल्ला नेपालकै आठौँ संवेदनशील जिल्लाका रुपमा रहेको बाँके प्रशासनले जनाएको छ ।

पश्चिम नेपालको मुख्य व्यापारिक नाका भएको, ६५ किलोमिटर भारतसँगको खुल्ला सीमा–नाका भएको र आसपासका भारतीय सिमावर्ती बजारमा लागूऔषध सजिलै उपलब्ध हुने भएकाले पनि यसै भूगोलमार्फत पश्चिम नेपालका विभिन्न जिल्लामा लागूऔषध पुग्ने गरेको आशङ्का गर्ने गरिन्छ ।

चालू आर्थिक वर्ष २०८०/०८१ को ७ महिनामा लागूऔषध सेवन, कारोबार सम्बन्धि ३७ वटा मुद्दा दर्ता भएका छन् भने ५१ जना कारोबारीलाई प्रतिवादी बनाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button