पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग आजदेखि बल्खुस्थित आफ्नै भवनमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग आजदेखि बल्खुस्थित आफ्नै भवनमा सरेको छ ।
लामो समयसम्म प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसबाट सञ्चालन भएको विभाग आजदेखि बल्खुमा नवनिर्मित आफ्नै भवनमा सरेको हो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति शिवलाल भुसालले आज बल्खुस्थित त्रिवि परिसरमा एक औपचारिक समारोहबीच सो भवनको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उपकुलपति भुसालले त्रिभुवन विश्व विद्यालयको पत्रकारिता तथा आमसञ्चार अध्ययनलाई अझै गुणस्तरीय र उत्कृष्ट बनाउन आवश्यक पूर्वाधार सहितको भवनले झन् सहयोग पुर्याउने विश्वास ब्यक्त गर्नु भयो ।

कार्यक्रममा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले भवन निर्माणमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै पत्रकारिता तथा आमसञ्चार अध्ययनलाई अझै परिष्कृत बनाउँदै लैजाने बताउनुभयो । उहाँले, २०३३ सालदेखि त्रिविले सुरु गरेको पत्रकारिता अध्ययन यहाँसम्म आइपुग्दा धेरै अब्बल पत्रकारहरू उत्पादन भई मुलुकको सञ्चार क्षेत्रमा स्थापित भएका बताउनुभयो ।
कार्यक्रममा भवन निर्माण समितिका संयोजक उपप्राध्यापक डा. देवराज अर्यालले २०७६ सालदेखि सुरु गरिएको भवन निर्माणको काम तोकिएकै समयमा सम्पन्न भएको बताउनुभयो । करिब २२ करोड लागतमा निर्माण सम्पन्न भएको सो भवनको डिजाइन निजी संस्थाबाट नभई त्रिवि अन्तर्गतकै इन्जिनियरिङ कन्सल्टेन्सी सेवाले गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्