सेमिफाइनलमा तीन विभागीयसहित गण्डकी प्रदेशको भिडन्त पक्का
रुपन्देही । रुपन्देहीको तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टिमहरू बीच नै उपाधिको रोचक भिडन्त हुने भएको छ ।

विभागीय टिम नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी र गण्डकी प्रदेश खेलको सेमिफाइनल पुगेपछि फाइनल खेल थप रोचक हुने भएको हो । मङ्गलवार नेपाल पुलिस क्लब र कोशी प्रदेशबीच भएको खेलमा नेपाल पुलिस क्लबले सोझो सेटमा कोशीलाई हराउन सफल भएको छ । प्रहरीले २५–१७, २५–१३, २५–१५ मा कोशीलाई रोक्दै नेपाल पुलिस क्लब विजयी भएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाल पुलिस क्लबका खेलाडी पहल गहतराज खेलको म्यान अफ द म्याच भएका छन् ।
आजको विजयसँगै नेपाल पुलिस क्लब उपाधिको दाबेदारमा बलियो भएको हो। त्यसैगरी बाग्मती प्रदेश एपिएफबीच भएको खेलमा एपिएफ क्लब विजयी भएको हो । एपिएफले पहिलो सेट २५–१८ बनाएर हात पारेको थियो तर दोस्रो सेट भने बाग्मतीले एपिएफलाई १८ मा रोक्दै २५ बनाएर पुनः खेल बराबरी बनाएको थियो । एक एक सेट बाँडेको प्रतियोगितामा २ सेट भने एपिएफले आफ्नो पक्षमा पार्न सफल भएको छ । एपिएफले २५–१९, २५–१९ मा रोक्दै सेमिफाइनल यात्रा तय गरेको हो । खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै एपिएफ क्लबका खेलाडी लोकेन्द्र गिरी म्यान अफ द म्याच भए ।
मङ्गलवारको तेस्रो सेट त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच भएको खेलमा सोझो सेटमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीले २५–१५, २५–१९, २५–१९, बनाएर जित हात पारेको हो । खेलमा उत्कृष्ट खेद प्रदर्शन गरेको भन्दै त्रिभुवन आर्मीका खेलाडी हरि अधिकारीलाई प्रतियोगिताको म्यान अफ दी म्याच भए।
चौथो खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच भएको खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले २५–१७, २५–१८, २५–२२ मा लुम्बिनीलाई रोक्दै सेमिफाइनल पुगेको हो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै गण्डकीका खेलाडी विश्वास अधिकारी खेलको म्यान अफ द म्याच भए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख १ रुपैयाँ, द्वितीय हुनेले १ लाख ५० हजार १ रुपैयाँ, तृतीय हुनेले नगद १ लाख १ रुपैयाँ र सान्त्वना हुनेले नगद ५० हजार १ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र पाउने खेल संयोजक सुरेन्द्र गुरुङले बताए । यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विधागत रुपमा नगद सहित मायाको चिनोले सम्मान गर्ने आयोजक क्लब मणिमुकुन्द भलिबल क्लबले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्