बाँके-बर्दियामा पर्यटन प्रवर्द्धन गर्न वृहत् ‘साइकल यात्रा’ सुरु

नेपालगञ्ज । बाँके र बर्दियाको पर्यटन प्रवर्द्धन गर्न दुई दिने वृहत् साइकल यात्रा सुरु गरिएको छ ।
साइकल यात्रामार्फत पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउन विगत सात वर्षदेखि हुँदै आएको ‘टुर डे ठाकुरद्वारा’ यसपटक आजदेखि सुरु गरिएको हो । आज बिहान प्रसिद्ध बागेश्वरी मन्दिर परिसरबाट साइकल यात्रा सुरु भएको छ । ‘टुर डे ठाकुरद्वारा’ को शुभारम्भ नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले गर्नुभयो ।
भारतीय र चिनियाँ साइक्लिष्टहरु समेत सहभागी हुँदै आएको ‘टुर डे ठाकुरद्वारा’मा यसपटक अझ उत्साहबद्र्धक उपस्थिति रहेको आयोजक नेपालगञ्ज साइक्लिंग क्लबले जनाएको छ । नेपालगञ्जलाई साइकल सिटीका रूपमा विकास गर्दै यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न ‘टुर डे ठाकुरद्वारा’ले महत्त्वपूर्ण भूमिका खेलेको नेपालगञ्ज साइक्लिंग क्लबका अध्यक्ष प्रदिप सापकोटाले बताउनुभयो । इभेन्ट डाइरेक्टर सतिस निरौलाका अनुसार दुई सय साइक्लिष्टहरु ‘टुर डे ठाकुरद्वारा’मा सहभागी भएका छन् । स्वदेशी र विदेशी साइकलयात्री नेपालगञ्जबाट बाँके र बर्दियाका विभिन्न भाग हुँदै ठाकुरद्वारा पुगेर शनिवार फर्किनेछन् ।
दुई दिने उत्सव आयोजनाका लागि २७ लाख खर्च हुने अनुमान रहेको इभेन्ट डाइरेक्टर निरौलाले बताउनुभयो । टुर डे ठाकुरद्वारालाई भब्यरुपमा सफल बनाउन बिहीबारदेखि नै साइकल उत्सव सुरु भएको नेपालगञ्ज साइक्लिंग क्लबले जनाएको छ । बिहीबार १० बर्षमुनिका बालबालिकाका लागि ‘साइकल रेस’को आयोजना गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्