तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकको समृद्धि र विकाससँगै राष्ट्रिय हितको रक्षा गर्न नेकपा एमाले जिम्मेवार : अध्यक्ष ओली

वीरगंज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र विकाससँगै राष्ट्रिय हितको रक्षा गर्न नेकपा एमाले जिम्मेवार, सकारात्मक तथा सशक्त भएर अगाडि बढी रहेको बताउनु भएको छ ।

नेकपा एमाले रौतहटको १० औँ जिल्ला अधिवेशनको आज गरुडामा उद्घाटन गर्नु हुँदै अध्यक्ष ओलीले मुलुकमा देखिएको बेथिति, विसङ्गति विरुद्ध जनतालाई साथमा लिएर एमाले संसद् देखि सडक सम्म दृढताका साथ प्रस्तुत हुने बताउनु भयो ।

उहाँले अहिलेको सरकारले देशलाई सर्वत्र अस्तव्यस्त बनाएको तथा विकास–निर्माण र आयोजनाहरू अलपत्र परेको भन्दै पार्टी कार्यकर्तालाई आफ्नो क्षेत्रमा सुशासन र विकासका निम्ति डटेर लाग्न निर्देशन समेत दिनुभयो । 

पूर्व प्रधानमन्त्री रहनु भएका ओलीले माधव नेपालले आफैँले बनाएको विशाल घरमा आगो लगाएर गठबन्धनलाई घर भन्दै हिँडेको टिप्पणी गर्दै बढ्ता जान्ने भएर अहङ्कारले उफ्रिँदा भड्खालामा पुगेको आरोप लगाउनु भयो ।

उहाँले माधव नेपालले आफैँले बनाएको विशाल पार्टी दुई तिहाइ पुगेपछि पार्टी फोड्ने, सरकार ढाल्ने र काँग्रेससँग लागेर सरकार बुझाउने कामको अगुवाइ गरेको टिप्पणी गर्दै गएको निर्वाचनमा माधव नेपालको पार्टी राष्ट्रिय पार्टी समेत बन्न नसकेको र अब आउने चुनावमा नेपाल आफैँले चुनाव जित्न नसक्ने दाबी समेत गर्नु भयो ।

अध्यक्ष ओलीले मिसन २०८४ पछि देशमा जनताको सरकार बनाउन लाग्नुपर्ने भएकाले त्यसतर्फ केन्द्रित हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नु भयो ।

अध्यक्ष ओलीले आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पनि एमालेलाई धोका दिएको बताउँदै टिकट आफैँले राखेर एमाले सिद्ध्याउने खेलमा प्रभु साह लागेको आरोप लगाउनु भयो । 

यसैबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको छ । एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न गरुडा पुग्नुभएका अध्यक्ष ओलीलाई जिल्लाका नेता तथा कार्यकर्ताहरूले स्वागत गर्दै १०१ किलोको माला लगाइदिएका हुन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button