ज्यान मार्ने धम्की दिँदै ५ करोड फिरौती माग्ने दुई युवा पक्राउ

पोखरा । पोखरामा ज्यान मार्ने धम्की दिँदै पाँच करोड रकम फिरौती माग्ने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट घर भई हाल पोखरा महानगरपालिका–८ मा बस्दै आएका ३६ वर्षका लक्ष्मण दर्जी र उनका साथी कुश्मा नगरपालिका– १४ आर्थर घर भई हाल पोखरा महानगरपालिका– ८ सिमलचौर बस्दै आएका ४२ बर्षीय दिपक बहादुर क्षेत्रीलाई पक्राउ गरिएको कास्की प्रहरीले आज पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
पक्राउ परेका दर्जी विगत ४ बर्ष कतारमा बसेर एक महिनाअघि मात्र पोखरा आएका हुन् भने क्षेत्री नेपालमै बेरोजगारको रुपमा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताउनुभयो ।

पोखरा महानगरपालिका–१६ स्थित लामाचौर घर भएका तथा दीपमा रहेको सच्चाई सेवा केन्द्रका सञ्चालक तथा सच्चाई सेवा केन्द्र नेपालका केन्द्रिय अध्यक्ष प्रकाश दीप गैरेलाई फोन तथा म्यासेजमार्फत हिन्दी भाषाको प्रयोगमा ज्यान मार्ने धम्की दिँदै ५ करोड फिरौती माग गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताउनुभयो ।
उनीहरूको साथबाट लागु औषध गाँजा ५७२ ग्राम, भरुवा बन्दुकमा हाल्ने केप २७ स्थान, १ थान कुखुरी, सानो, ठुलो मुगा १४ थान, कालो टर्च लाइट २ थान बरामद गरिएको एसपी थापाले बताउनुभयो ।
साथै उनीहरूको साथबाट २ थान मोबाइल सेट, फामलको हक्सा ब्लेड १ थान, रन्दा मेसिन एक थान, गेलेन्डे मेसिन एक थान, पेन्चिस एक थान, ३ वटा पुस्तक, एउटा नोट बुक, विभिन्न उद्योगी व्यवसायी, एनआरएनए, नेताहरूको नामसहित उनीहरूको छोराछोरीको समेत नाम उल्लेख गरिएको ८ पाना भेटिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुई जनाले यूटुवबाट भिडियो समेत हेर्ने गरेको र उक्त रकम दिनसक्ने लागेर अध्यक्ष गैरेको मोबाइल नम्बर समेत ल्याएको प्रहरीले जनाएको छ ।
फोन तथा म्यासेज गरेपछि पक्राउ परेका दुवै जना पुनः सच्चाई केन्द्रमा जाने गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई लागु औषध, हात हतियार खरखजना, ५ करोड रकम फिरौती माग गरेकोले अपहरण तथा शरीर बन्धक उद्योग मुद्दा चलाउने तयारी गरेको एसपी थापाले बताउनुभयो ।
उनीहरुलाई ७ बर्ष कैद र ७० हजारसम्मको जरिवाना हुनसक्ने भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्