तपाईँ सुन्दै हुनुहुन्छः

ठोरी नाका स्तरोन्नति सहित माघ २७ देखि छोटी भन्सार सञ्चालनमा आउँदै 

वीरगंज । सिमानाको हिसाबले मधेश प्रदेशको भए पनि बागमती प्रदेशको भारतसँग जोडिने एकमात्र सीमा नाकाको रुपमा रहेको ठोरी नाकामा भन्सार स्थापना गर्न ठोरी र चितवनका स्थानीय बासिन्दाले लामो समय देखि गर्दै आएको माग अब पुरा हुने भएको छ ।

अर्थ मन्त्रालय भन्सार विभागको पहलमा लामो समयको प्रतीक्षापछि पर्साको ठोरी नाकाको स्तरोन्नति सहित आगामी माघ २७ गते देखि सञ्चालनमा आउने भएको छ ।

बीरगंज भन्सार कार्यालयको छोटी भन्सारको रुपमा विगतमा स्थापना भएको ठोरी छोटी भन्सार लामो समय देखि बन्द रहेको थियो । 

हाल चितवनको भरतपुर महानगरपालिकाले भारतको उत्तरी क्षेत्रबाट बढीभन्दा बढी पर्यटकलाई भरतपुरसम्म आउन तथा बागमती प्रदेशका सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु तथा आयात निर्यात व्यापार समेत सहज होस् भन्ने उद्देश्यले ठोरीस्थित छोटी भन्सार नाका सञ्चालन गर्न भन्सार विभागलाई यस अघि नै अनुरोध गरेको थियो ।  

त्यसैगरी चितवन माडीका स्थानीय बासिन्दाले बागमती प्रदेशलाई भारतको सिमानाका सँग जोडने नाकाको रुपमा ठोरीलाई स्तरोन्नति सहित छोटी भन्सार नाका स्थापना गर्न लामो समय देखि माग गर्दै आएका थिए । यता ठोरीका बासिन्दासमेत छोटी भन्सार नाका बन्द हुँदा दैनिक उपभोग्य वस्तु आयात निर्यातमा समस्या झेल्दै आएको भन्दै नाका सुचारु गर्न माग उठाई रहेको अवस्थामा भन्सार विभागले ठोरी नाकालाई स्तरोन्नति सहित औपचारिक रुपमा सञ्चालन गर्ने भएपछि अब ठोरी क्षेत्रको विकासमा यसले सकारात्मक प्रभाव पार्ने ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताउनु भयो । 

पर्सा जिल्लाकै दोस्रो नाकाको रुपमा रहेको ठोरीमा अवस्थित छोटी भन्सार कार्यालयको नयाँ भवन निर्माण गरिएको वर्षाै बितिसक्दा पनि भन्सार विभागले कर्मचारीको व्यवस्थापन नगर्दा छोटी भन्सार कार्यालय सञ्चालनमा आउन सकेको थिएन । 

आगामी माघ २७ गते अर्थमन्त्री डा. प्रकाश शरण महतले ठोरीमा आएर छोटी भन्सारको स्तरोन्नति  सहित सञ्चालनमा आएको घोषणा गर्ने औपचारिक कार्यक्रम समेत तय भई सकेको ठोरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

अर्थमन्त्री महतसँगै अर्थमन्त्रालयका अन्य दुई सचिव तथा भन्सार विभाग प्रमुखको समेत आगमनमा ठोरी छोटी भन्सारको स्तरोन्नतिको घोषणा हुने कार्यक्रम रहेको छ ।

लामो समयदेखि बन्द रहेको भन्सार सचालनमा आएसँगै भारतीय पर्यटकहरूलाई नेपालको जुनसुकै स्थानमा आवागमनमा समेत गाडी भन्सार जाँच पास भई आवत जावत गर्न सक्ने हुँदा भारतीय पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा आफूहरूले लिएको ठोरीकी होटल व्यवसायी सङ्गीता लामाले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button