तपाईँ सुन्दै हुनुहुन्छः

मिटरमा सञ्चालन नहुने ट्याक्सीलाई १० हजार जरिवाना गर्छौं : मन्त्री जुग्जाली

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले प्रदेशमा ट्याक्सीहरूको दादागिरी अन्त्यको लागि मिटरमा सञ्चालन नहुने ट्याक्सीहरूलाई ५ गुणाले जरिवाना वृद्धि गरिएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजनामा पोखरामा आइतबारदेखि सुरु भएको डिजिटल साक्षरता तालिमको उद्घाटन गर्दै मन्त्री जुग्जालीले यातायात क्षेत्र अन्तर्गत ट्याक्सीमा बढी सिन्डिकेट र दादागिरी रहेको उल्लेख गर्दै त्यसको अन्त्य गर्दै मिटरमा सञ्चालन नहुने ट्याक्सीलाई हाल कायम रहेको २ हजार जरिवाना ५ गुणाले वृद्धि गरी १० हजार पुर्‍याइएको बताउनुभएको हो ।

प्रदेशमा सञ्चालन हुने ट्याक्सीले अब मिटरमा सञ्चालन नभएको भेटिएमा १० हजारसम्मको जरिवाना गर्ने, प्रदेशमा निजी सवारी साधनको २५ वर्षको आयु निर्धारण गर्ने, प्रदेशमा रुट प्रमिट लगायतका विषयमा सहज बनाएको मन्त्री जुग्जालीले जनाउनुभयो ।

समाजमा सकारात्मक भन्दा बढी नकारात्मक विषयले बढी चर्चा पाएको उल्लेख गर्दै मन्त्री जुग्जालीले महत्त्वाकाङ्क्षा आवश्यकता भन्दा बढी हुँदा सबै क्षेत्रमा समस्या आएको दाबी गर्नुभयो । पत्रकारितामा केहीले ब्ल्याकमेल गर्दा सिङ्गो पत्रकारिता क्षेत्रलाई असर परेको उहाँको भनाइ थियो ।

पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित तालिममा डिजिटल नेपालका सन्तोष सिग्देलले सहजीकरण गर्नुभएको छ । समय अनुसारको डिजिटल प्रविधिको सही ढंगले पत्रकारहरूले उच्चतम प्रयोग गर्न उहाँले सुझाव दिनुभयो । पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा उद्घाटन सत्र समापन भएको हो ।

तालिममा करिब ४० जना सहभागी भएको तालिम संयोजक एवं महासङ्घ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button