तपाईँ सुन्दै हुनुहुन्छः

कृषि, उद्योग र सेवा क्षेत्रको विकासका लागि सरकार गम्भीर : काँग्रेस महामन्त्री थापा

वीरगञ्ज । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले उद्योग, व्यापार, कृषि, पर्यटन तथा सेवा क्षेत्रको विकासबाट मात्रै समग्र मुलुकको आर्थिक समुन्नति सम्भव हुने बताउनुभएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कृषि, उद्योग, निजी क्षेत्र र सेवा क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताउनुभयो ।

यहाँले मुलुकमा व्याप्त निराशालाई चिर्न आफु मेची महाकालीको यात्रामा निस्किएको बताउँदै अहिले देखिएको आर्थिक गतिहीनता, बढ्दो भ्रष्टाचार, सर्वसाधारणले पाउने सेवा सुविधामा ढिलासुस्ती जस्ता समस्यालाई सहज बनाउनेतर्फ सरकारले गृहकार्य गरिरहेको जानकारी गराउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले मुलुक आर्थिक दृष्टिकोणले अत्यन्तै जटिल मोडमा पुगेको बताउँदै आर्थिक वृद्धि दर २ देखि ३ प्रतिशतको हाराहारीमा सीमित रहनु दुखद विषय भएको दाबी गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य डा.सुबोध कुमार गुप्ताले वीरगञ्ज क्षेत्रले राष्ट्रिय राजश्वमा झन्डै ५० प्रतिशत योगदान दिइरहेको जानकारी गराउँदै यस क्षेत्रको आर्थिक महत्व र समर्थनलाई राज्यले प्राथमिकतामा नलिएको गुनासो व्यक्त गर्नुभयो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद गौतम, उपाध्यक्ष माधव राजपाल, नेपाल औषधी व्यवसायी संघका केन्द्रिय अध्यक्ष प्रकाश खण्डेलवाल लगायताका उद्योगी व्यवसायीहरूले निजी क्षेत्रले लगानी गर्ने विषयगत क्षेत्रहरू अझै पनि स्पष्ट हुन नसकेको विषयमा महामन्त्री थापाको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अजय चौरसिया, मधेश प्रदेशका पूर्व ऊर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा, संविधान सभा सदस्य अनिल रुंगटा, प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य श्याम पटेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button