२३ ओैं आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबलाई
पोखरा । थ्री स्टार क्लबसँग बदला लिँदै त्रिभुवन आर्मी क्लबले २३ ओैं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा पहिलो पटक उपाधि जितेको छ । पोखरा रङ्गशालामा आज दश हजार भन्दा बढी दर्शक माझ भएको फाइनल खेलमा थ्री स्टारलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

आर्मीको जितमा जिलष्पीजंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले गोल गर्नुभयो । कार्की खेलमा म्यान अफ दी म्याच घोषित हुनुभयो । सहारा युकेका अध्यक्ष सहितको टिमले उहाँलाई १५ हजार पुरस्कार वितरण गर्नुभयो ।
२०७५ सालमा भएको प्रतियोगितामा थ्री स्टारले टाई ब्रेकरमा ५-४ को अन्तरले आर्मीलाई पराजित गरेको थियो । चार पटक फाइनलमा पुगेर पनि उपाधिविहीन भएको आर्मीले पहिलो पटक उपाधि जितेको हो ।
आर्मीले उपाधिसहित १२ लाख १ हजार पुरस्कारको प्राप्त गरेको छ भने उपविजेता भएको थ्री स्टारले ६ लाख १ हजार पुरस्कार प्राप्त गरेको महासचिव रामजी प्रसाद अधिकारीले बताउनुभयो ।
यही माघ ९ गतेदेखि सुरु भएको प्रतियोगितामा एक विदेशीसहित १२ टिमको सहभागिता रहेको खेल संयोजक पूर्णबहादुर गुरुङले जनाउनुभयो । उक्त प्रतियोगिताले पोखराको खेल पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अध्यक्ष केशवराज बरालले बताउनुभयो ।
दर्शकलाई आकर्षण गर्न फ्यान अफ दी म्याच समेत घोषणा गरिएको छ । शनिबार को खेलमा कृष्ण थापा र अम्मरबहादुर मगर फ्यान अफ दी म्याच घोषित हुँदै जनही ५ हजार रुपैयाँ हात पार्न सफल हुनुभयो । उक्त कार्यक्रमलाई बेलायत निवासी उमा र रामचन्द्र गुरुङको सहयोग प्राप्त भएको क्लबका सुदर्शन रञ्जितले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्