बैतडीमा हिमपात, किसान हर्षित

बैतडी । गतवर्ष ७ पटक भारी हिमपात भएको बैतडीमा यसवर्ष भने पहिलोपटक हिमपात भएको छ । जिल्लाका उच्च लेकाली भू–भागहरूको हिमपात भएको हो ।
जिल्लाको खोड्पे, सिगास, बाँजपानी, सतबाँज, अनारखोली लगायतका क्षेत्रमा हिमपात भएको हो । यसैगरी बझाङ, दार्चुला र डडेल्धुराका उच्च लेकाली भेगमा पनि हिमपात भएको छ ।
बुधबार रातिदेखि नै चिसो मौसम सुरु भएपछि बिहीबार बिहानैदेखि वर्षासँगै हिमपात भएको हो । असोज महिना देखी लामो समयपछि मात्रै हिउँदे वर्षा भएकाले किसानहरुले राहत महसुस गरेका छन् । वर्षा नहुँदा हिउँदे बालीनाली सुक्न थालेको थियो ।
ढिलोगरी हिउँदे वर्षा भएपछि आलु लगाउने किसानहरूलाई भने निकै राहात मिलेको खोड्पेका स्थानीय किसान पदम बिष्टले बताउनुभयो ।
किसानहरुले खेतमा लगाएको गहुँ तथा दलहन बाली सुक्नै लागेका बेला वर्षा सँगै हिमपात भएकाले राहत मिलेको दशरथचन्द नगरपालिकाका किसान अन्तराम लोहारले बताउनुभयो । लामो समयदेखि वर्षा नभएकाले खेतमा रोपेको तरकारी बाली सुक्नै लागेकोमा पुनः सप्रिने आश जागेको उहाँले बताउनुभयो ।
यसैगरी हिउँदे फलफूलका बिरुवा लगाउने समय भएकाले पनि बिहीबारदेखिको वर्षाले निकै राहात पुग्ने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्