तपाईँ सुन्दै हुनुहुन्छः

मिथिला विद्वान विदुषीहरूको भूमि हो : पूर्वप्रधानमन्त्री नेपाल 

जनकपुरधाम । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले जनकपुरधाममा शुरु भएको महोत्सवले मैथिली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनमा थप मद्दत पुग्ने बताउनु भएको छ । 

पूर्व प्रधानमन्त्री नेपालले मधेश प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र मैथिली विकास कोषको आयोजना तथा जनकपुरधाम उपमहानगरपालिकाको सह–आयोजनामा जनकपुरधाममा आज देखि शुरु भएको “जनकपुर साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव” उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । 

उहाँले प्राचीन काल देखि नै मिथिला ज्ञान, विज्ञान तथा विद्वान, विदुषीहरूको भूमि रहेको चर्चा गर्दै राजा जनक प्रजा प्रिय नेता रहेकाले उहाँ अहिलेका राजनीतिज्ञहरूका लागि प्रेरणाको श्रोत रहनु भएको बताउनु भयो । 

पूर्व प्रधानमन्त्री नेपालले यस्ता प्रकारको महोत्सवको आयोजना गरेर मैथिली संस्कृतिका अतिरिक्त यस क्षेत्रमा भएका अन्य जातजातिको भाषा, साहित्य तथा संस्कृतिलाई देखाउने अवसर प्रदान गरेर मिथिलाले देशलाई जोड्ने सन्देश दिएको बताउनु भयो । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मल्लकालमा मैथिली काठमाण्डौको राजकाजको भाषा भएको चर्चा गर्दै नेपाली भाषाको जन्म भएको वेलामा पनि मैथिली भाषा तथा संस्कृति समृद्ध भएको इतिहास साक्षी भएको बताउनु भयो । 

उहाँले भाषा तथा क्षेत्रमा विभेद गर्ने काम गणतन्त्रमा पनि भइरहेको बताउँदै संवैधानिक रुपमा नै अहिले कुनै एक भाषालाई राज्यको संरक्षण दिने काम भएको छ भने अन्य भाषालाई संरक्षणको जिम्मा ती क्षेत्रलाई नै दिने काम भएको बताउनु भयो । 

जसपाका अध्यक्ष यादवले मधेश प्रदेश स्थापना भएपछि मधेशीको पहिचान बढेपनि मधेशका लागि दिएको बजेट निक्कै कम भएको बताउँदै प्रदेशले चाडै मैथिली सहितका भाषालाई प्रदेशको कामकाजी भाषा बनाउने आशा व्यक्त गर्नु भयो । 

उहाँले जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त भएको संविधानलाई संशोधन गरेर भएपनि सबै समस्याहरूको सम्बोधन गरेर संविधानको रक्षा गर्न आवश्यक भएको बताउनु भयो । 

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मैथिली तथा भोजपुरी सहितको भाषाको विकासका लागि प्रदेश सरकारले शुरु देखि नै विभिन्न प्रकारको कामकाज गर्दै आएको बताउनु भयो । 

नेपाली काँग्रेसका सहमहामन्त्री मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासका लागि जून रुपमा राज्यको संरक्षण हुनु पर्दथ्यो त्यो अनुसार नभएको बताउनु भयो । 

नेकपा एमालेका सचिव योगेश भट्टराईले मैथिली भाषाको प्रभाव अहिले देशको विभिन्न भागहरूमा विस्तार हुन थालेको चर्चा गर्दै यस्ता प्रकारको महोत्सवले थप मद्दत गर्ने बताउनु भयो । 

मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सरकारले मैथिली भाषा तथा साहित्यको समृद्धिका लागि काम गरिरहेको बताउनु भयो । 

मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले मैथिली सहित प्रदेशमा बोलिने अन्य भाषाहरूलाई प्रदेशको कामकाजको भाषा बनाउने गरि विधेयक ल्याउने तयारी भइरहेको बताउनु भयो । 

मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले मैथिली भाषा, साहित्य र संस्कृति समृद्ध भएपनि यसको थप विकासका लागि प्रदेशले स्वामित्व ग्रहण गर्दै सम्मेलनका लागि सहयोग गरेको बताउनु भयो । 

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको सभापतित्वमा भएको सो कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य डा. शोभित गौतम, काँग्रेसका नेता आनन्द प्रसाद ढुङ्गाना र नेकपा एसका नेता रामचन्द्र झाले महोत्सवको महत्व माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा मिथिलामा बसोबास गर्ने विभिन्न जातजातिको संस्कृति सल्किने गीत सङ्गीत तथा नृत्य प्रदर्शन गरिइएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button