तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुर गोल्डकप : एनआरटीसँग हिमालयन शेर्पा पराजित 

मकवानपुर । हेटौँडामा जारी छैटौँ संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपमा न्युरोड फुटबल क्लब (एनआरटी) ले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । 

हेटौँडा–६, स्थित गौरीटार बहुउद्देश्यीय रङ्गशालामा आज भएको खेलमा एनआरटीले साविक उपबिजेता हिमालयन शेर्पालाई ३–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै एनआरटी क्वाटरफाईनलमा प्रवेश गरेको छ । 

हिमालयन शेर्पा प्रतियोगिताबाट बाहिरिएको छ । आज भएको खेलमा एनआरटीका लागि खेलको १४औँ मिनेटमा सरोज तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाए । 

यस्तै, खेलको पहिलो हाफ कै २९औँ मिनेटमा एनआरटीका लागि रोहन खड्कीले थप गोल गरेका थिए । भने दोस्रो हाफको ४० मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै एनआरटीको जित सुनिश्चित गरेका थिए । खेलको म्यान अफ दी म्याच एनआटीका सरोज तामाङ घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे । प्रतियोगितामा भोलि मच्छिन्द्र युवा क्लब र एपिएफबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । 

मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा आगामी माघ २७ गतेसम्म सञ्चालन हुने छैटौँ संस्करणको मकवानपुर गोल्डकपमा १२ टोलीहरूको सहभागिता रहेको छ । प्रतियोगितामा भोलि बिहीबार मच्छिन्द्र युवा क्लब र एपीएफ बीचको खेल दिउँसो २ः०० बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

मकवानपुरका स्थानीय तहहरूको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपबिजेताले १० लाख प्राप्त गर्नेछ । 

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात पार्ने साथै विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button