पर्सा प्रशासनद्वारा मिटर ब्याज सम्बन्धी ५ सय ७ उजुरीको फर्छ्यौट

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेको उजुरीमध्ये ५ सय ७ वटा उजुरी फर्छ्योट गरि बाँकी १ हजार ३ सय ६६ उजुरीका फाइलहरू आवश्यक कारबाहीका लागि आज जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा पीडित स्वयं उपस्थित भएर तथा अनलाइनबाट १ हजार ८ सय ५५ उजुरी दर्ता भएकोमा ती मध्ये छलफलको विधिबाट ५ सय ७ वटा उजुरी पीडितको पक्षमा फर्छ्योट गरिएको र २ वटा मुद्दामा गई अदालतबाट फर्छ्यौट हुने क्रममा रहेको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो ।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग’ को म्याद सकिएपछि गृह मन्त्रालयले बाँकी रहेका र नयाँ आउने उजुरी हेर्ने र विवाद निरुपण गर्ने जिम्मा जिल्ला प्रशासनबाट जिल्ला प्रहरीलाई जिम्मा लगाएसँगै फर्छ्यौट हुन बाँकी रहेको १ हजार ३ सय ६६ फाइल आवश्यक कारबाहीका लागि आज जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाइएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनु भयो ।
गृहमन्त्रालयले ‘अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरी सङ्कलन तथा फर्छ्यौटका लागि कार्यसम्पादन कार्यविधि’ जारी गरेको र जसमा जाँचबुझ आयोगले जिल्ला प्रशासन कार्यालयमा पठाएर विचाराधीन रहेको उजुरी जिल्ला प्रहरी कार्यालयमा पठाउन निर्देशन दिएसँगै बाँकी रहेका उजुरीको आवश्यक कारबाहीका लागि प्रहरी कार्यालयमा पठाइएको लम्सालले जानकारी दिनुभयो ।
गृह मन्त्रालयको निर्णयसँग अब मिटर ब्याजी सम्बन्धी नयाँ उजुरी लिने र हाल विचाराधीन र नयाँ दर्ता हुने मिटर ब्याजका उजुरीहरूमा प्रहरीले मेलमिलापको प्रयास समेत गर्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ध्रुव कुमार श्रेष्ठले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्