पनौती त्रिवेणीघाटमा मकर मेला झल्किने कलाकृति तयार हुँदै

धुलिखेल (काभ्रेपलाञ्चोक) । चित्रकार आयुश बज्राचार्य नेतृत्वको टोली त्रिवेणीघाट मन्दिर परिसरका घरका भित्ता कलात्मक चित्रले भर्न व्यस्त छ । यही काममा टोली करिब एक महिनादेखि नै लागिरहेको छ ।
टोलीले कोरेको चित्रकलामा पनौतीको धार्मिक, ऐतिहासिक र पुरातात्त्विक इतिहास झल्कन्छ । पनौती नगरपालिका–६, ७ र ९ को सङ्गमस्थल त्रिवेणीघाटमा लाग्ने बाह्र वर्षे मकर मेला र पनौतीको पौराणिक इतिहास झल्किने कलाकृति तयार भइरहेको हो । पनौती पर्यटन विकास केन्द्रको अगुवाइमा बागमती प्रदेश सरकारको सहयोगमा सो कलाकृति तयार पार्ने काम भइरहेको केन्द्रले जनाएको छ ।
धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक सहर पनौती त्रिवेणीघाट परिसरमा रहेको घरको मन्दिरपट्टी तर्फका घरका भित्तामा बाह्र वर्षे मकर मेला र पनौतीको पौराणिक इतिहास झल्किने कलाकृति तयार भइरहेको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले बताउनुभयो । चित्रकला कर्माचार्यकै परिकल्पनामा तयार पारिएको हो ।
केन्द्रका अध्यक्ष कर्माचार्यले पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अगाडि बढाइरहेको अवस्थामा पर्यटकलाई थप आकर्षित गर्नका लागि त्रिवेणी घाटमा कलाकृति निर्माण गरेको बताउनुभयो । त्यसका लागि प्रदेश सरकारले रु २५ लाख बजेट विनियोजन गरेको उहाँको भनाइ छ ।
“पनौतीको प्रचारप्रसारको यो नयाँ प्रयास हो, हाम्रो प्रयासलाई पूर्णता दिनका लागि बागमती प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ”, उहाँले भन्नुभयो, “२०७८ सालमा आयोजित मकर मेलामा हाल चित्र कोरिरहेको घरका भित्तामा फ्लेक्स राखिएको थियो ।”
कलाकृति तयारीसँगै त्रिवेणीघाट आसपासमा वृक्ष रोपणको काम भएको पनौती पर्यटन विकास केन्द्रले जनाएको छ ।
निर्माण भएको कलाकृति शालिनदीमा भइरहेको माधव नारायणका व्रतालु स्नानका लागि पनौती त्रिवेणीघाटमा आउने अवसर पारेर उद्घाटन गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । उत्तर प्रयागको रुपमा परिचित त्रिवेणीघाट पनौतीको पहिचान हो । रासस






प्रतिक्रिया राख्नुहोस्