तपाईँ सुन्दै हुनुहुन्छः

टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन सुरु

कास्की । गण्डकी प्रदेशको म्याग्दी र मुस्ताङ जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन सुरु गरिएको छ ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र रघुगङ्गा गाउँपालिकासँगको समन्वयमा टे«किङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)गण्डकीको आयोजनामा आजदेखि पदमार्गको खोज, अनुसन्धान तथा प्रवद्र्धन कार्यक्रम सुरु भएको हो ।

म्याग्दीको रघुुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सीमानामा रहेको पर्यटकीयस्थल टोड्केमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र थापा र सचिव कुमानसिंह गुरुङले अध्ययन टोलीलाई बिदाइ गर्नुभयो ।

टोड्केदेखि मालिका धुरी–ठाडाखानी–कुइने–चौरखानी–घ्यासीखर्क–सुगुरथला, कछुवा ओडार–धौलागिरि आधार शिविर–कालीबराह हुँदै मुस्ताङको लेते जोड्ने पदमार्गको अध्ययन गर्ने टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिनुभयो  ।

“गण्डकी प्रदेशमा आउने पर्यटकका लागि नयाँ गन्तव्यको विकास तथा उनीहरूको बसाइ लम्ब्याउने उद्देश्यले पदमार्गको खोजी र अध्ययनमा आएका हौँ”, उहाँले भन्नुभयो “धौलागिरि हिमालको फेदीमा रहेको नेपालका अल्पसङ्ख्यक छन्त्याल र आदिवासी जनजाति मगर समुदायको बसोबास रहेको ठाडाखानी, कुइनेमङ्गले बस्ती समेटिएको यो पदमार्गलाई धौलागिरि पानोरमा टे«क नामकरण गरेका छौँ ।”

धवलागिरि हिमशृङ्खला र आधार शिविरका साथै मगर, छन्त्याल संस्कृति, वनजङ्गल, ग्रामीण जीवनशैली, वन्यजन्तु, वनस्पति, पक्षी, ताल, झरना, धार्मिकस्थल आकर्षणका रुपमा रहेको यो पदमार्ग सात दिनमा पूरा गर्न सकिनेछ । 

यसअघि, पहिचान भएको धौलागिरि सेञ्चुरी र आइसफल पदमार्गमा छरिएर रहेका बस्तीलाई जोड्न पानोरमा पदमार्गको अवधारणा अघि सारिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button