“मुलुकको सीमा तथा शान्ति सुरक्षामा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण”
जनकपुरधाम । सशस्त्र प्रहरी बल नेपालको २३ औँ स्थापना दिवस सशस्त्र प्रहरी बल नं ८ गण हेड क्वाटर धनुषाले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।

गणले सशस्त्र प्रहरीको विभिन्न विओपी सहितका पोस्टहरूमा कार्य गरेर उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न दर्जाका २० जनालाई प्रशंसापत्र सहित सम्मान गरेको छ ।
साथै दिवसको अवसरमा आयोजित खेलकुद कार्यक्रमका विजयी सशस्त्र प्रहरीका खेलाडीहरूलाई सोही कार्यक्रममा प्रशंसापत्र सहित सम्मानित गरिएको थियो ।

जिल्लामा रहेर उत्कृष्ट कार्य सम्पादन गरेका सशस्त्र प्रहरीहरूलाई धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले प्रशंसापत्र प्रदान गरेर सम्मानित गर्नुभयो । सम्मानित हुनेहरूमा सशस्त्र प्रहरी निरीक्षक हिमाल देव सुवेदी, सशस्त्र प्रहरी नायव निरीक्षक सन्तवीर माझी, सशस्त्र प्रहरी सहायक निरीक्षक सुनिल कुमार साह लगायत हुनुहुन्छ ।
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले सशस्त्र प्रहरीले शान्ति सुरक्षा, सीमा तथा भन्सार चोरी निकासी तथा पैठारी, प्राकृतिक विपद्को समयमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै अगामी दिनमा थप ईमान्दारीका साथ कार्य सम्पादन हुने आशा व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी बल नेपाल धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दिनेश मल्लको अध्यक्षतामा भएको कार्यक्रममा खुकुरी दिल सहितका विभिन्न प्रकारका सांस्कृतिक नृत्यहरू प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा नेपाली सेनाका धनुषाका प्रमुख सेनानी सुरेश देवकोटा, धनुषाका प्रहरी उपरीक्षक मित्र बन्धु शर्मा सहितका अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्