जुम्लाको चन्दननाथ कोसेली घरमा आगलागी,लाखौँको क्षति
जुम्ला । चन्दननाथ नगरपालिका ५ स्थित उद्योग वाणिज्य सङ्घको आडमा रहेको चन्दननाथ अर्गानिक कोसेली घरमा आगलागी भएको छ । गएराती १ बजेतिर विधुत सट भएपछि कोसेली घरमा आगलागी भएको हो ।
जुम्लामा उत्पादित रैथाने वस्तुको बजारीकरण गर्दै आएको कोसेली घरमा आगलागी हुँदा अनुमानित ३५ लाखबढीको क्षति भएको कोसेली घर सञ्चालक गोविन्द आर्चायले बताउनुभयो । यद्यपि क्षतिको एकिन विवरण आउन बाँकी छ ।
उहाँले भन्नुभयो,‘राती १ बजे मात्रै आगलागी भएको थाहा पाए । सुरक्षाकर्मी स्थानीयको सहयोगमा डेढ दुई घण्टामा आगो नियन्त्रणमा आएपनि सबै अर्गानिक बस्तु आगोमा जलेर नष्ट भएको छ । ३५ लाख बढी क्षति भएको छ ।
कमाउने स्रोत अरू केही नभएको र परिवार पाल्ने एकमात्र माध्यम बनेको कोसेली घरमा आगलागी भएपनि ठुलो बज्रपात परेको उहाँको दुखेसो छ ।
आगलागीबाट अर्गानिक कोसेलीघर पूर्ण रुपमा जलेको छ भने छेउमै रहेको उद्योग वाणिज्य सङ्घको भवन र चिया पसलमा समेत आंशिक क्षति भएको छ ।
कोसेली घरमा राखिएको लाखौँ मूल्य बराबरको,मार्सी चामल,विभिन्न खाले सिमि,दाल,दाँते ओखर,खरायाको टोपी,गहत,भटमास,मकै,कोदो फापरको पिठो,जडीबुटी राडिपाखी लगायतका अर्गानिक अन्न जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
सुरक्षा निकायले विद्युत् तार सटभईआगलागी भएको अनुमान गरेको छ । नेपाली सेनाको नन्दाबक्स गण,नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दले मध्यरातमा एक्कासी चन्दननाथ कोसेली घरमा आगलागी भएको थाहा पाएपछि प्रहरी त्यहाँ पुगेको बताउनुभयो । क्षतिको एकिन विवरण आउन बाँकी रहेको उहाँको भनाई । केकति कारणले आगलागी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको चन्दले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्