तपाईँ सुन्दै हुनुहुन्छः

एपिएफले गर्‍यो टाइगर कपमा ह्याट्रिक

पोखरा । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले पोखरामा सञ्चालन भएको टाइगर कप भलिबल प्रतियोगितामा ह्याट्रिक पुरा गरेको छ । 

पोखरामा जारी चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता २०८० अन्तर्गत महिला तर्फको खेलमा दोस्रो तथा डिफेन्डिङ च्याम्पियन एपिएफ क्लबले आज (शनिबार) भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिका न्यू डायमन्ड एकेडेमीलाई सोझो तीन सेटमा पन्छाउँदै ह्याट्रिक पुरा गरेको हो ।

हजारौँ दर्शक माझ भएको फाइनल खेलमा एपिएफले २५—२०, २५—१८ र तेस्रो सेट २५—२१ मा डाइमण्डलाई पराजित गरेको हो ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना पोखरामा शनिबार सम्पन्न भएको उक्त प्रतियोगितामा पुरुषतर्फ भने साविक विजेता गण्डकी भलिबल सङ्घलाई ३-१ को सेटमा पराजित गर्दै काठमाडौँको हेल्प नेपाल स्पोट्र्स क्लब विजयी भएको हो ।

हेल्प नेपालले गण्डकी भलिबल सङ्घलाई २५-१३,२५-१८, २४-२६ र चौथो सेटमा २५-१७ ले जित हासिल गरेको हो । फाइनल खेलमा गण्डकीको टिममा ३ भारतीय खेलाडी र हेल्प नेपालको टिममा ३ पाकिस्तानका खेलाडीहरू संलग्न भएका थिए ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गरे ।

विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, सदस्य राजेश गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको संस्थाका अध्यक्ष नारायण शर्माले बताउनुभयो । 

प्रतियोगितामा महिला तथा पुरुषतर्फ ६/६ टिमको सहभागिता रहेको थियो भने प्रतियोगिता माघ १ देखि सुरु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button