तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम इलाम गोल्डकप आजदेखि सुरु

इलाम । इलाममा आजदेखि प्रथम इलाम गोल्डकप सुरु हुदैछ । 

इलाम सदरमुकामस्थित ठुलो टुँडिखेलमा सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रेडहर्ष फुटबल क्लब र विदेशी टोली भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लब  भिड्ने भएका छन् । 

फुटबल खेललाई पर्व जतिकै महत्व दिने इलाममा ४ वर्षयता  स्तरीय फुटबल प्रतियोगिता हेर्न नपाएका दर्शक उत्साहित छन् । 

यही मैदानमा विगत वर्षमा इलामकै ठुलो प्रतियोगिता माईभ्याली गोल्डकप आयोजना हुँदै आएको थियो । कोभिड महामारी पछि आर्थिक रुपमा सङ्कटमा परेकाले माईभ्याली गोल्डकप छैटौँ  संस्करण पछि अगि बढ्न सकेको छैन ।

फुटबलको माध्यमबाट खेल र पर्यटन प्रवर्द्धन गर्न  रेडहर्ष फुटबल क्लबले प्रथम संस्करणको इलाम गोल्डकप आयोजना गरेको क्लबका सदस्य तथा अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व केन्द्रिय सदस्य निरोज खड्गीले बताउनुभयो । सुस्ताएको इलामलाई व्युत्याउनु प्रतियोगिता सञ्चालन गरिएको खड्गीको भनाइ छ । 

प्रतियोगितामा सञ्चालनको लागि व्यवस्थित खेलमैदान नहुँदा आयोजकले मैदान तयारीको लागि लाखौँ रकम खर्चिएका छन् । दर्शकका लागि बाँसको अस्थायी पारापिट निर्माण गरिएको  छ । मैदानको उत्तर पहिरो गएकोले वाल लगाइएको छ । मैदान व्यवस्थापन र पारापिट निमार्णमा मात्रै १० लाख रुपैयाँ खर्च भएको क्लबका सचिव प्रकाश घिमिरेले बताउनुभयो । व्यवस्थित खेल मैदान अभावले प्रतियोगिता सञ्चालन गर्न खेलमैदानमा लाखौँ रकम खर्च गर्न बाध्य भएको घिमिरे बताउनुहुन्छ । श्रोत जुटाउन सहयोगी दाताहरू, संंघ संस्था, सरकार, व्यवसायी, विदेशमा रहेका नेपालीले सहयोग गरिरहेको आयोजकले जनाएको छ । प्रतियोगिताको लागि ६० लाख बढी खर्च लाग्ने आयोजकले जनाएको छ । 

प्रतियोगितामा एक विदेशीसहित आठ टिमको  सहभागिता रहेको छ । नेपालका ‘ए’ डिभिजन क्लब न्युरो टिम एनआरटी काठमाडौँसहित बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, विर्तामोड युनाइटेड झापा, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही, आयोजक रेडहर्ष फुटबल क्लब इलाम र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतको सहभागिता छ ।

प्रतियोगितामा राष्ट्रिय खेलाडीहरू समेत विभिन्न टिमबाट इलामको मैदामा खेल्नेछन् । राष्ट्रिय खेलाडी विमल घर्तीमगर, सीमान्त थापा र राजेश परियार पाँचथरबाट खेल्ने जनाएको छ । दिपक कार्की इटहरीबाट, छिरिङ गुरुङ र उत्सव राई आयोजक टीममा छन् । सन्तोष महत बुटवलबाट, हिसुब थपलिया, अभिषेक वराई, प्रशान्त लक्सम र देवेन्द्र तामाङ झापाबाट खेल्दै छन् । विजेताले नगद पाँच लाख र उपविजेताले नगद ३ लाख पुरस्कार पाउने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ ।  

सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर र उदयमान खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल माघ १३ गते  हुनेछ । 

आज हुने उद्घाटनमा द भ्वाइस अफ सिजन ५ का विजेता विनोद राई र गायक यम बरालको साङ्गीतिक प्रस्तुति रहने आयोजकको तयारी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button