डिफेन्डिङ च्याम्पियन गण्डकी र हेल्प नेपाल टाइगर कप भलिबलको फाइनलमा
पोखरा । डिफेन्डिङ च्याम्पियन गण्डकी भलिबल संघ र काठमाडौँको हेल्प नेपाल स्पोट्स क्लब पोखरामा जारी चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता २०८० को पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शुक्रबार पोखरा रङ्गशालामा भएको पहिलो सेमिफाइनलमा पाहुना टोली श्रीलङ्काको आर्मी टिमलाई हेल्प नेपालले ३-१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । श्रीलङ्काले पहिलो सेट २५-१८ मा लिए पनि हेल्प नेपालको उत्कृष्ट पुनरावलोकन गर्दा पछिल्लो लगातार तीन सेटमा श्रीलङ्काको आर्मी टिम पराजित भएको हो । हेल्प नेपालले २५-१४, २५-१८ र अर्को सेटमा २६-२४ मा पराजित गरेको हो ।
पुरुष तर्फको अर्को सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल सङ्घले एपीएफलाई २५-१७,२५-२० र तेस्रो सेट २५-२२ मा पराजित गर्दै फाइनलमा यात्रा तय गरेको हो ।

तेस्रोको लागि शुक्रबार महिलातर्फ भएको खेलमा आर्मीले पुलिसलाई २५-१७, १८९२५, २५-२० र २५-१९ मा पराजित गरी तेस्रो भएको हो ।
टाइगर कप भलिबल प्रतियोगिता अन्तर्गत शनिबार फाइनल खेलसँगै प्रतियोगिता सम्पन्न हुने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनुभयो ।
शनिबार पुरुष तर्फको तेस्रो स्थानको लागि श्रीलङ्काको आर्मीसँग दोस्रो सेमिफाइनल खेलमा पराजित एपिएफ बिच खेल हुने भएको छ ।
महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लब र चन्द्रागिरि न्यू डायमन्डका बिच उपाधिको लागि फाइनल खेल शनिबार हुने भएको हो ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरूले जनही नगद २५/२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरूले करिब १५/१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने संस्थाका सचिव डिबी नेपालीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्