तपाईँ सुन्दै हुनुहुन्छः

बाँसगढी माघ महोत्सव : उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्नुहुने

 
बाँके । छैटौँ बाँसगढी औद्योगिक, कृषि, पर्यटन व्यापार मेला तथा बर्दिया माघ महोत्सव–२०८० को सम्पूर्ण तयारी पूरा भएको छ । आज देखि बाँसगढीमा सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक बाँसगढी उद्योग वाणिज्य संघले जनाएको छ ।

मेलाको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनकोे आयोजना गरेर संघले मेलाको नेपाल सरकारका रक्षामन्त्री एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्ने जानकारी दिएको छ ।
मेला उद्घाटनपूर्व विभिन्न समुदायका संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने संघले जनाइएको छ ।

पञ्चेबाजा, मयूर नाच, लाठी नाच तथा थारू संस्कृतिका विभिन्न झाँकीसहित आगन्तुक पाहुनाहरूको स्वागत गरिने संघका अध्यक्ष बद्रीनाथ बरालले जानकारी दिनुभयो।

 
जिल्लामा रहेका पर्यटकीय क्षेत्र तथा कृषि उत्पादनको प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिएको बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बरालले बताउनुभयो। उहाँले महोत्सवमा १ सय २० स्टल रहने तथा एक लाखभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

अध्यक्ष बरालका अनुसार महोत्सवभित्र राखिने स्टलमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ । महोत्सव हेर्न आउने विद्यार्थीलाई टिकटमा ३० प्रतिशत छुट र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । जिल्लामा रहेका पर्यटकीय स्थल च्यामा ताल, सतखलुवा ताल, बर्दिया राष्ट्रिय निकुञ्ज, केदारेश्वर धाम, बढैयाताल, बोकटियामा रहेको प्राचीन शिव मन्दिर, कृष्णसारलगायतका क्षेत्रको प्रचारप्रसार गरिने अध्यक्ष बरालले बताउनुभयो ।

उद्योग व्यापार संघका महासचिव विकास गौतमले माघको ४ र ५ गते महोत्सवमा थारू नृत्य देखाइने र ६, ७ र ८ गते बालबालिकाका बीचमा बर्दिया आइडल नृत्य प्रतियोगिता सञ्चालन गरिने जानकारी दिनुभयो ।
 
मेलालाई यस क्षेत्रमा विगतमा लाग्दै आएका मेलाभन्दा फरक र उदाहरणीय बनाउन प्रयास गरिएको गौतमको भनाइ छ । 

बर्दियाको बाँसगढीमा हुने महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा प्रचारप्रसार हुने आयोजकले विश्वास लिएको छ । साथै महोत्सवलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरूका प्रस्तुति रहने जनाइएको छ । महोत्सव पुस २९ गतेबाट माघ ९ सम्म सञ्चालन रहनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button