वीरगन्जमा “नमूना संयुक्त राष्ट्रसङ्घीय सम्मेलन” सम्पन्न
वीरगञ्ज । अमेरिकी दूतावासको आर्थिक सहयोग तथा वैचारिक युवा समाजको आयोजनामा वीरगञ्जमा “नमूना संयुक्त राष्ट्रसङ्घीय सम्मेलन” सम्पन्न भएको छ ।
मधेश प्रदेशका युवाहरूलाई लक्षित गर्दै आयोजित नमुना संयुक्त राष्ट्रसङ्घ सम्मेलनको तेस्रो संस्करण वीरगञ्जको टाउन हलमा सम्पन्न भएको हो ।

सम्मेलनको उद्घाटन गर्नुहुँदै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले युवा जनशक्तिलाई स्वदेशमै रोजगारी दिएर देशको समृद्धिको महान् अभियानमा लगाउनुपर्ने कुरामा जोड दिनुभयो ।
सो अवसरमा सम्मेलनमा सहभागी १८ देखि ३० वर्ष उमेर समूहका ४९ जना युवाहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा र अजेण्डामा आधारित रहेर बहस तथा छलफल गरेका थिए ।

पहिलो समिति एस ओ सि एच यु एम ले बाल तथा जबरजस्ती विवाह सम्बन्धी सामाजिक एवम् सांस्कृतिक मुद्दामा छलफल गरेको थियो ।
दोस्रो समिति युनिसेफले गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने विषयका विविध आयामका बारेमा अर्थपूर्ण छलफल गरेको कार्यक्रम संयोजक वैचारिक युवा समाजले जनाएको छ । सम्मेलनमा सहभागी युवाहरूलाई विभिन्न देशको प्रतिनिधि बनाइएको थियो ।
प्रतिनिधिहरूले विभिन्न विषयमा आफ्नो धारणा राख्नुका साथै वैचारिक बहस, कूटनीतिक वार्ता तथा मस्यौदाका प्रस्तावहरू प्रस्तुत गरेका थिए । समस्या विश्वव्यापी प्रकृतिको रहे पनि यसले मधेस प्रदेशको सामाजिक स्तम्भहरूमा असर पारेको हुनाले समाज पुनर्संरचनाको दियो बालेको आयोजक समितिले जनाएको छ ।
सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले युवाको व्यक्तित्व तथा नेतृत्व विकासका लागि यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
महिला उद्यमी चञ्चला दासले पनि सम्मेलनलाई निरन्तरता दिई आगामी दिनमा अरू छुटेका युवालाई पनि समावेश गराउन आग्रह गर्नुभयो ।
सम्मेलनबाट मधेश प्रदेशको शैक्षिक गुणस्तरीयता र युवा जागरणको पहलमा सकारात्मक उपलब्धि हासिल भएको वैचारिक युवा समाजका दिलीप कुमार हजराले बताउनुभयो । सम्मेलनबाट केही प्रतिनिधि छनौट गरी अन्तर्राष्ट्रिय स्तरको सम्मेलनमा सहभागी गराइने हजराले बताउनुभयो ।
अब कर्णाली प्रदेशमा सम्मेलनको आयोजना गरिने हजराले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्