तपाईँ सुन्दै हुनुहुन्छः

बृहत् दोलखा महोत्सवमा पाँच करोड बढीको कारोबार

दोलखा । दोलखा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको बृहत् दोलखा महोत्सव– २०८० मङ्गलवार सकिएको छ । 

१२ दिनसम्म विभिन्न साङ्गीतिक कार्यक्रम सहित सञ्चालन भएको महोत्सव अवलोकनमा झण्डै एक लाख मानिस पुगेको र पाँच करोड भन्दा बढी कारोबार भएको संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले बताउनुभयो ।

भीमेश्वर नगरपालिका सहित जिल्लाको नौ वटै पालिका र विभिन्न ४० भन्दा बढी संघ संस्थाको सहकार्यमा सञ्चालन भएको बृहत् दोलखा महोत्सव– २०८० को लागि राखिएका एक सय ४७ वटा स्टलमा स्थानीय कृषिजन्य उत्पादन, हस्तकला, किवी, सुन्तला लगायतका फलफूल, खाना तथा कपडाका सामग्रीहरु रहेको र ती स्टलहरूमा दैनिक ४० लाखसम्मको कारोबार भएको दोलखा उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

महोत्सव आयोजनाको सन्दर्भमा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाललाई जिल्लाको उत्तर– दक्षिण र पूर्व– पश्चिम राजमार्गलाई पर्यटन तथा कृषि उद्योगमैत्री बनाउने, दोलखा फिल्मशिटी निर्माणको लागि प्राथमिकताका साथ काम गर्ने, चरिकोट रङ्गशाला निर्माणमा सहयोग गर्ने लगायतका विषयमा ध्यानाकर्षण गराइएको र त्यसलाई दोलखा उद्योग वाणिज्य सङ्घले निरन्तर चासो दिइरहने अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

महोत्सवले जिल्लाको आर्थिक गतिविधिमा महत्वपूर्ण सहयोग पुर्‍याउने र पर्यटन प्रवर्द्धन तथा कृषि उत्पादनमा समेत टेवा पुर्‍याउने
 भएकोले दोलखा उद्योग वाणिज्य सङ्घले आगामी २०८१ साल कार्तिक ३० गतेदेखि मङ्सिर १५ गतेसम्म दोस्रो बृहत् दोलखा महोत्सवको आयोजना गर्ने तयारी थालेको संघका सचिव प्रवीण श्रेष्ठले बताउनुभयो । 

महोत्सवको अवसरमा आस्था राउत, रमेश प्रसाईँ, कल्पना दहाल, ज्योति मगर, राजनराज शिवाकोटी, अमृत खाती, हरिबहादुर राउत, कोपिला वाइबा, एलिना चौहान, शान्ति श्री परियार, प्रिती आले लगायतका राष्ट्रिय कलाकार र स्थानीय कलाकारको प्रस्तुति, ब्याडमिन्टन खेल प्रतियोगिता, गजल साँझ, स्ट्रिट फुड फेस्टीबल लगायतका कार्यक्रम समेत सञ्चालन गरिएको आयोजकले जनाएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button