ज्योतिष विद्यालाई नयाँ प्रविधिसँग आबद्ध गरी विश्वभर प्रचारप्रसार गर्न आवश्यक : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले परम्परागत शास्त्रीय ज्योतिष विद्यालाई अब नयाँ प्रविधि र पद्धतिसँग आबद्ध गरी विश्वभर यसको प्रचार–प्रसारमा अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।
आज आयोजित नेपाल ज्योतिष परिषद्को रजत महोत्सवका अवसरमा उहाँले ज्योतिष विद्यालाई हचुवाका रूपमा अभ्यास गर्ने र यसलाई जीविकोपार्जनको माध्यम बनाउनेभन्दा माथि उठेर तथ्य र प्रमाणमा आधारित वैज्ञानिक र अनुसन्धानमूलक विद्याको रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
“ज्योतिष हाम्रो समाज तथा व्यक्तिगत र पारिवारिक जीवनसँग अभिन्न रूपमा गाँसिएको विद्या हो । यो प्रामाणिक र वैज्ञानिक विद्या हो”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “अब सामान्य हात हेर्ने र चिना टिप्पणी कोर्ने कुराबाट माथि उठेर समग्र आकाशीय पिण्ड र खगोलको खोजी तथा विभिन्न ग्रहहरूको स्थिति, गति र त्यसबाट मानव जीवनमा पर्नसक्ने सकारात्मक र नकारात्मक पक्षहरूको विश्लेषण गर्ने गरी ज्योतिष विद्याको विकास र अनुसन्धान गर्न आवश्यक छ ।”

उपप्रधानमन्त्री खड्काले ज्योतिष विद्या र खगोलीय पिण्डहरूको अवस्थिति र चलनबीच प्रत्यक्ष सम्बन्ध हुने भएकाले देशमा विभिन्न भागमा आधुनिक वेधशाला र ज्योतिषीय अनुसन्धान केन्द्रको विकास र विस्तार गर्दै जान आवश्यक रहेको समेत उल्लेख गर्नुभयो ।
आज ज्योतिष पढ्ने र ज्योतिष हेर्ने विषयमा विगतको तुलनामा धेरै जनशक्ति उत्पादन भएको भन्दै उहाँले सञ्चार माध्यमबाट पनि धेरै किसिमका ज्योतिषीहरूले नियमित तवरमा ज्योतिषीय परामर्श दिने गरेको बताउनुभयो । तर ज्योतिषका क्षेत्रमा सङ्ख्यात्मक वृद्धिसँगै यसको गुणस्तरीयता कायम गर्ने र यसको आधिकारिकता सुनिश्चित गर्ने विषय चुनौतीपूर्ण बन्दै गइरहेको उहाँको भनाइ छ । “ज्योतिषीका नाममा जथाभाबी परामर्श दिने, हचुवा रूपमा फलादेश गर्ने आदि कार्यले सर्वसाधारण व्यक्तिको जीवनमा नकारात्मक असर पर्नुका साथै यो महत्त्वपूर्ण विद्याप्रति आम सर्वसाधारणको विश्वास घट्दै गइरहेको पाइन्छ। अतः यसमा सुधार गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।
ज्योतिष व्यवसायीका बीचको अस्वस्थ प्रतिस्पर्धा र मतमतान्तरलाई नियन्त्रण गरी ज्योतिष विद्यालाई व्यवस्थित तवरमा अघि बढाउन ज्योतिष अभ्यास गर्ने व्यवसायीहरूलाई एउटा निश्चित प्रक्रिया, कार्यविधि र मापदण्ड बनाएर नियमन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । यस सन्दर्भमा नेपाल ज्योतिष परिषद् र राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस दिशामा आगामी दिनमा आवश्यक पहलकदमी लिन आवश्यक रहेको उहाँको सुझाव थियो । ज्योतिष विद्यालाई थप वैज्ञानिक बनाई यसप्रति जनविश्वास अभिवृद्धि गर्न सरकार र ज्योतिषीय अध्ययन अनुसन्धानमा संलग्न संस्थाहरूबीच सहकार्य गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“नेपाल ज्योतिष परिषद्ले स्थापनाकालदेखि नै नेपालमा ज्योतिष विद्या र ज्ञानलाई व्यवस्थित तवरले अघि बढाउन र ज्योतिष विद्यालाई गाउँघरसम्म फिँजाउन महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “परिषद्को आयोजनामा विगतमा नेपालमा तीन वटा अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलन र झण्डै डेढ दर्जनको सङ्ख्यामा राष्ट्रिय ज्योतिष सम्मेलन सम्पन्न भई ज्योतिष र धर्मशास्त्रका विभिन्न पक्षमा महत्त्वपूर्ण विचार विमर्श भएका छन् ।”
परिषद्ले देशमा विभिन्न प्रदेशका विभिन्न जिल्ला तथा स्थानीय तहमा ज्योतिषीय गोष्ठी, तालिम र प्रशिक्षण सञ्चालन गरी धेरै ज्योतिषानुरागी व्यक्तिहरूलाई शिक्षित र दीक्षित गर्दै आएको छ । देशमा धेरै सङ्ख्यामा प्रशिक्षित ज्योतिषी जनशक्ति विकास गरी ज्योतिष विद्यालाई देशको कुना कन्दरासम्म प्रचार–प्रसार गर्न परिषद्ले काम गर्दै आएको छ ।
परिषद्को मुखपत्रका रूपमा रहेको ‘ज्योतिष–सन्देश’ पत्रिकाले विभिन्न विद्वान् तथा विदुषीहरूका लेख रचनाहरू प्रकाशन गरी ज्योतिष शास्त्रका विभिन्न पक्षमा नियमित तवरमा नेपाली समाजमा महत्त्वपूर्ण जानकारी तथा सूचना सम्प्रेषण हुँदै आएका छन् ।
“परिषद्ले आगामी दिनमा ज्योतिष शास्त्रभित्रका महत्त्वपूर्ण ग्रन्थ तथा कृतिहरूलाई प्रकाशनमा ल्याउने, संस्कृत तथा अन्य भाषामा रहेका ज्योतिषका ग्रन्थलाई सर्वसाधारण सबैले बुझ्ने गरी नेपाली भाषामा क्रमशः अनुवाद गरी ज्योतिष विद्यामा सबैको पहुँच अभिवृद्धि गर्ने र ज्योतिष विद्यालाई थप वैज्ञानिक र व्यवस्थित बनाई समाजको बृहत्तर हितमा उपयोग गर्ने वातावरण निर्माण गर्न अग्रणी भूमिका निर्वाह गर्नेछ भन्ने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।

यसका साथै, ज्योतिषको अध्ययन अनुसन्धानमा विशिष्ट योगदान गर्ने विद्वान् विदुषीहरूलाई सम्मान गर्ने र उनीहरूलाई थप अध्ययन अनुसन्धानका लागि प्रोत्साहित र उत्प्रेरित गर्ने कार्य समेत गर्दै जानेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । परिषद्को कार्यमा नेपाल सरकारबाट पनि आवश्यक सहयोग उपलब्ध गराउनेमा उहाँले प्रतिबद्धता जनाउनुभयो ।
ज्योतिष, पूर्वीय र वैदिक वाङ्मयको महत्त्वपूर्ण विधा हो । वेदका प्रमुख ६ अङ्गमध्ये ज्योतिषलाई चक्षु याने आँखाको रूपमा शास्त्रमा उल्लेख गरिएको छ । सृष्टिको आरम्भदेखि हालसम्मको कालगणना तथा हाम्रा धार्मिक सांस्कृतिक चाड तथा व्रत पर्वहरूको निर्धारण ज्योतिष विद्याबाटै हुने गरेको छ । हाम्रा जन्मदेखि मृत्युसम्मका सबै धार्मिक सांस्कृतिक संस्कारहरू ज्योतिषले बताएको मुहूर्तअनुसार पात्रोमा उल्लेख गरिएअनुरूप नै सम्पन्न हुने गरेका छन् । विभिन्न उद्देश्य राखेर गरिने यज्ञीय अनुष्ठान तथा व्रतहरू ज्योतिषले निर्दिष्ट गरेको समयमा सम्पादन गर्दा मात्र त्यसबाट चाहेको जस्तो अभिलषित फल मिल्ने हुन्छ । त्यसैले पूर्वीय समाजमा ज्योतिषलाई ठुलो आदर र महत्त्वका साथ लिने गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्