तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा ६ जनाको उम्मेदवारी दर्ता

सुर्खेत । राष्ट्रिय सभा चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धनसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

आज प्रदेश निर्वाचनको कार्यालय सुर्खेतमा पुगेर विभिन्न पार्टीका ६ जनाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन् । तीनवटा सिटमा हुने निर्वाचन अन्तर्गत कर्णालीमा नेकपा एमालेले तीन वटै सिटमा उम्मेदवारी दर्ता गराएको छ ।

दलित तर्फ हिक्मत विक (दैलेख), महिला तर्फ विमला शाही (हुम्ला) र अन्यतर्फ डिल्लीप्रसाद भट्टले उम्मेदवारी दिनुभएको हो ।

उता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको भागमा भने एक/एक सिट परेको छ । त्यसमा दलित कोटामा माओवादी केन्द्रका विष्णु विक (कालिकोट) महिला कोटातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) र अन्यतर्फ नेपाली कांग्रेसका कृष्ण रोकायाले उम्मेदवारी दिनुभएको निर्वाचन आयोग जनाएको छ ।

उम्मेदवारी दर्ता कार्यक्रमका उम्मेदवारका साथमा पार्टीका नेता तथा कार्यकर्ताहरू पुगेका थिए । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट तीन जना सदस्य चुनिने छन् । कर्णालीबाट यसअघि राष्ट्रिय सभामा निर्वाचित भएका जाजरकोटका भैरबसुन्दर श्रेष्ठ, कालीकोटका नरपति लुवार र सुर्खेतका नन्दा चपाइँको पदावधि सकिँदै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button